अखिल नेपाल किसान महासंघले राप्तीसोनारी गाउँपालिकालाई बुझायो ७ बुँदे माग

81

नेपालगन्ज– अखिल नेपाल किसान महासंघ राप्तीसोनारीले गाउँपालिकाका अध्यक्ष लाहुराम थारुलाई विभिन्न मागसहितको ज्ञापन पत्र बुझाएका छन् । महासंघ राप्तीसोनारी गाउँपालिका कमिटीका संयोजक राम कुमार थारुसहित पालिका पुगेको टोलीले ७ बुँदे माग सहितको ज्ञापनपत्र बुझाएको हो ।

राप्ती सोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारुलाई बुझाइएको ज्ञापन पत्रमा यही कार्तिकको पहिलो सातामा आएको अविरल वर्षा बाढी र डुबानका कारण किसानहरुमा पर्न गएको क्षतिपुर्ति बापतको राहत तुरुन्त वितरण गरिनु पर्ने, धान रोपाइको समयमा मात्र नभएर हिउँदे बालीमा समेत रसायनिक मलको चरम अभाव देखिएकाले मलको सहज आपूर्तिको व्यवस्था गर्नुपर्ने, खारेज गरिएको भूमि समस्या समाधान आयोगको अधूरा कामलाई अगाडि बढाउनु पर्ने, किसानलाई विउ विजन उपलव्ध गराउँदा गुणस्तरीय वीउ विजन उपलब्ध गराउनु पर्ने, बास्तविक किसानलाई कृषि ऋण, अनुदान तथा आवश्यक प्राविधिक सेवा उपलव्ध गराउन आवश्यक पहल गरिदिनु पर्ने, कृषि उपजको न्युनतम समर्थन मूल्यको प्रभावकारी कार्यान्वयन गरिनुपर्ने साथै बाँके राष्ट्रिय निकुन्ज मध्यवर्ती क्षेत्रभित्र रहेका एलानी जग्गामा खेती किसानी गर्ने किसानहरुको खेतीपाती वन्यजन्तुले पुगाएको क्षतिको उचित राहत व्यवस्था गर्न समेत माग गरिएको थियो ।

बर्सेनी हुँदै आइरहेको बाढी कटान र डुबानको समस्या समाधानका लागि आवश्यक तटबन्धको व्यवस्था गर्न अखिल किसान महासंघ राप्तीसोनारी कमिटीले गाउँपालिकासँग माग गरेको संयोजक थारुले जानकारी दिए । ज्ञापन पत्र बुझ्दै राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष लाहुराम थारुले किसानका माग प्रति गाउँपालिका सकारात्मक रहेको भन्दै समस्या समाधानको बाटो खोजिने प्रतिबद्धता जनाए । ज्ञापन पत्र बुझाउने कार्यक्रममा नेकपा बाँकेका जिल्ला सदस्य अंकित श्रेष्ठ, तुलसीराम थारुलगायतको उपस्थिति रहेको थियो ।

Womui
Womui