बुधबार रातिदेखि पेट्रोलियम पदार्थको मूल्य वृद्धि

84

नेपालगन्ज/ पेट्रोलियम पदार्थमा फेरि मूल्यवृद्धि भएको छ । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य वृद्धि भएपछि नेपाल आयल निगमले नेपालमा मूल्य वृद्धि गरेको जनाएको छ । निगमका अनुसार खाना पकाउने ग्यासबाहेक सबै इन्धनको मूल्य बढेको हो ।

बुधबार राति १२ बजेदेखि लागू हुने गरी निगमले डिजेल, पेट्रोल र मट्टीतेल प्रति लिटरमा तीन/तीन रुपैयाँ बढाएको छ ।

डिजेल र मट्टीतेलको मूल्य लिटरको एक सय २२ रुपैयाँ र पेट्रोलको मूल्य एक सय ३९ रुपैयाँ कायम गरिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिएका छन् ।

त्यसैगरी, हवाई इन्धन आन्तरिकतर्फ लिटरमा पाँच रुपैयाँ र अन्तराष्ट्रिय तर्फ प्रतिकिलोलिटर एक सय डलर वृद्धि भएको छ । हवाई इन्धन आन्तरिकतर्फको मूल्य लिटरको एक सय ६ रुपैयाँ कायम गरिएको छ ।

मूल्य वृद्धि गर्दा पनि निगमलाई १५ दिनमा एक अर्ब ८८ करोड रुपैयाँ घाटा रहेको निगमले जनाएको छ ।

Womui
Womui