भेटिएन नरभक्षी बाघ

65
तस्बिर सौजन्यः गणेश खड्का, डिभिजन वन कार्यालय बाँके

नेपालगन्ज– बाँकेको राप्ती सोनारी गाउँपालिका क्षेत्रमा मान्छे खाने हिंस्रक पाटेबाघ नियन्त्रणको लागि थालिएको अभियान स्थगित गरिएको छ । फत्तेपुर जंगलमा बाघको पाइला पन्छ्याइरहेको विशेषज्ञको टोलिले एकसाता खोज्दासमेत बाघ कतै फेला नपरेपछि खोजी कार्य स्थगित गरेको हो ।

राप्तीसोनारी गाउँपालिका–६ को फत्तेपुरबाट प्राविधिकसहितको टोलीले गत पुस २७ गतेदेखि उक्त बाघको खोजी सुरु गरेको थियो । डिभिजन वन कार्यालय बाँकेका सूचना अधिकारी गणेश खड्काले बाघको खोजीको लागि खटिएको टोली फिर्ता भएको बताए । ‘एक सातासम्म टोलीले फत्तेपुर क्षेत्रको जंगलमा बाघ खोज्ने काम ग¥यो कतै फेला परेन,’ उनले भने, ‘सोमबार देखी खोजी कार्य स्थगित गरेर टोली फिर्ता भइसक्यो ।’

राप्तीसोनारी गाउँपालिका वडा नम्बर–६ फत्तेपुरको जंगलमा ताजा बाघको छाप भेटाएको बाघ नियन्त्रणमा खटिएको प्राविधिक टोलीले उक्त बाघ नियन्त्रणमा लिन भरपुर प्रयास ग¥यो । बाघको ताजा पाइला फेला परेपछि सम्भावित स्थानमा आहारा स्वरुप ‘पाडो’ लगेर जंगलमै बाँधियो । पाडा खान आएको बाघलाई नियन्त्रणमा लिने योजना प्राविधिकसहितको टोलीले बनाएपछि बाघ खानै नआएपछि टोली रित्तो हात फर्किएको हो । दुवै पाडोसमेत जंगलबाट फिर्ता ल्याइएको सूचना अधिकारी खड्काले जानकारी दिए । मान्छे खाने बाघ नियन्त्रणमा लिन जंगलमा खटेको विशेषज्ञसहितको टोलीले बाघलाई लोभ्याउन आहारा स्वरुप राखेको पाडो नखाएपछि बाघ नियन्त्रणमा सकस भएको हो ।

बाघ खोज्न राष्ट्रिय प्रकृती संरक्षण कोषका स्वास्थ्य प्राविधिक, डिभिजन वन कार्यालय, बाँके राष्टिूय निकुञ्ज, स्थानीय जनप्रतिनिधि, वन तथा वातावरण संरक्षण समन्वय समिति कम्दीका पदाधिकारी, सामुदायिक वनकर्मी, प्रहरी, नेपाली सेना लगायतको संयुक्त टोली फत्तेपुर जंगलमा दिनहुँ परिचालन भइरहेका थिए । ‘एक सातासम्म धुइँपत्ताल खोज्दा पनि बाघ फेला पार्न सकिएन,’ उनले भने, ‘हामीले दुवै पाडो फिर्ता ल्यायौं ।’ बाघ खोजीमा प्रयोग गरिँदै आएका दुई हात्तीसमेत फिर्ता गरिएको छ ।’
बाघको आक्रमणबाट राप्तीसोनारी गाउँपालिका–४, पर्सोनाकी ५३ वर्षीया लिला बिष्टको पुस २२ गते र वडा नम्बर ६ फत्तेपुरकी ३२ वर्षीया चाँदनी थारूको पुस २४ गते ज्यान गएको थियो । तीन दिनमा दुईजनाको बाघले ज्यान लिएपछि स्थानीयहरुले तत्काल हिंस्रक बाघलाई नियन्त्रणमा लिन माग गरेका थिए । नियन्त्रणको लागि राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटिएनसी) चितवनबाट प्राविधिकको टोली आएको थियो । पहिलो दिनमा बाघका पाइलाहरु फेला परे पनि अन्य दिनहरुमा भने कुनै क्लूसमेत फेला परेको थिएन ।

दैनिक ३० देखि ४० जनाको टोली बाघको खोजीको लागि खटिने गरेको सूचना अधिकारी खड्काले जानकारी दिए । ‘गाडी जान सक्ने ठाउँमा गाडी दैनिक टोली परिचालन हुने गरेको थियो, गाडी जान नसक्ने ठाउँमा हात्ती प्रयोग गरियो,’ उनले भने, ‘सबै तरिका अपनाएर खोजी गर्दासमेत बाघ कतै देखिएन ।’ प्राविधिक टोलीले स्काइप क्यामराको समेत प्रयोग गरेको थियो ।

बाँकेको राप्तीसोनारी गाउँपालिका तथा नरैनापुर क्षेत्रमा चार महिनायता बाघले चारजनाको ज्यान लिइसकेको बाँके राष्ट्रिय निकुञ्जले जनाएको छ । बाँकेको नरैनापुरसँगै भारतको साहेलौवा राष्ट्रिय निकुञ्ज जोडिएको छ । बाँके र बर्दिया निकुञ्जमा बाघको संख्या उल्लेखनीय वृद्धि भएकाले राप्तीपारि क्षेत्रमा आतंक मच्चाएका बाघहरु बाँकेकै भएको आकलन गरिएको छ । । पाडो खान आएमा बाघलाई ‘डार्ट’ गरी नियन्त्रणमा लिने प्राविधिक टोलीको योजना रहेको थियो । यसअघि पनि बाँकेको राप्तीसोनारी गाउँपालिकाको अगैयामा बाघलाई ‘डार्ट’ गरी समाउन आहाराका रुपमा ‘पाडो’ राखिएको थियो । तर, ६ दिनपछि बाघले सुटुक्क पाडो खाएर कुलेलाम ठोकेको थियो । यतिबेला राप्तीसोनारी राप्तीपारीका क्षेत्रका बासिन्दाहरुको हरेकको घरबाहिर आगो बाल्ने र मान्छे जति साँझ पर्नेबित्तिकै घरभित्र पस्ने गर्दै आएका छन् ।

बाँके राष्ट्रिय निकुञ्जमा २१ वटा बाघ छन् । बाघ बढेको सम्बद्धहरु बताउँछन् । अहिले बाँके राष्ट्रिय निकुञ्जमा बाघ गणना भइरहेको छ । बाघले पटक–पटक आक्रमण गरिरहेपछि निकुञ्जमा पर्ने सडक र जंगलमा साइकल, मोटरसाइकलमा सवार गर्न छोडिएको छ । जंगल छेउछाउका बासिन्दा रातमा घरबाहिर निस्कन डराइरहेका छन् ।

Womui
Womui