संविधान बनाउने नेपालीको सपना साकार

174

काठमाडौं, भदौ ३१–
संविधानसभाले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान पारित गरेको छ । संविधान पारितसँगै नेपाली जनताको संविधानसभाबाट संविधान बनाउने ६५ वर्ष पुरानो सपना साकार भएको छ । संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले बुधबार राति ८ बजेर ५९ मिनेट जाँदा नेपालको संविधान पारित भएको घोषणा गरेका थिए । नयाँ संविधान पारित भएको घोषणा हुँदा सभासदहरूले धेरै बेरसम्म ताली बजाएर खुसी प्रकट गरेका थिए । eeeeeeeeeeee
संविधान पारितपछि एकीकृत नेकपा माओवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले खुसीले उठेर सबैतिर हात हल्लाएपछि संविधानसभाका सबै सदस्यले उठेर धेरै बेरसम्म ताली बजाएर संविधानको स्वागत गरेका थिए । संविधान पारित गर्ने प्रस्तावको विपक्षमा मतदान गरेको राप्रपा नेपालका सभासद पनि संविधान पारित भएपछि खुसीले धेरै बेरसम्म ताली बजाउँदै अन्य दलका सभासदसँग उभिएका थिए ।
बुधबार राति बसेको संविधानसभा बैठकले नेपालको संविधानको विधेयक बहुमतले पारित गरेको थियो । नेपालको संविधान ३५ भाग र ३ सय ८ धाराको बनेको छ । नेपालको संविधानको परिमार्जित विधेयकमा ३७ भाग रहे पनि विभिन्न आयोग रहेका भागलाई जोडेर ३५ भाग बनाइएको छ भने आयोग थप गरिएपछि संविधानका धारा बढाइएको छ । राष्ट्रिय महिला आयोग, राष्ट्रिय दलित आयोग, राष्ट्रिय समावेशी आयोग छुट्टाछुट्टै भागमा राखिएको थियो । तर संशोधन गरेर पछि थप गरिएको चारवटा आयोग समेत रहने गरी एउटै भागमा कायम गरिएको छ ।
संविधानसभा नियमावलीमा संविधानसभामा कायम सदस्य संख्याको कम्तीमा दुई तिहाइ बहुमतले संविधान पारित गर्ने व्यवस्था थियो । ६ सय १ जनाको संविधानसभा हुने व्यवस्था भए पनि सरकारका तर्फबाट २ जना मनोनीत गर्न बाँकी छ भने राप्रपाका नेता सूर्यबहादुर थापाको निधनपछि उनको स्थान रिक्त छ । संविधानसभामा हाल कायम सदस्य संख्या ५ सय ९८ रहे पनि बुधबारको बैठकमा ५ सय ३२ जना उपस्थित थिए ।
६६ जना सभासद अनुपस्थित थिए । बहिष्कार गरेका राजनीतिक दल बाहेकका पनि ८ सभासद अनुपस्थित थिए । संविधानसभा बैठकमा नेपालको संविधानको परिमार्जित विधेयक पारित गरियोस् भन्ने मस्यौदा समिति सभापति कृष्णप्रसाद सिटौलाले प्रस्ताव पेस गरेका थिए । प्रस्तावको पक्षमा ५ सय ७ र विपक्षमा २५ मत परेको थियो । मत विभाजनका आधारमा निर्णय गरिएको थियो । संविधानसभाको हाल कायम संख्याको ८४.७८ प्रतिशत र बुधबार उपस्थित संख्याको ९५.३ प्रतिशतले नेपालको संविधान पारित गरिएको हो । पारित संविधान असोज ३ गते साँझ ५ बजे राष्ट्रपति रामवरण यादवले हस्ताक्षरसहित जारी भएको घोषणा गर्नेछन् ।
त्यसअघि संविधानका भाग, धारा, सुधार नगरी नहुने शब्द र आनुसंगिक मिलाउन संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिका सभापति बाबुराम भट्टराईको नेतृत्वमा समिति गठन गरिएको छ । समितिमा मस्यौदा समिति सभापति सिटौला, एमाले प्रमुख सचेतक अग्नि खरेल, एमाओवादी प्रमुख सचेतक गिरिराजमणि पोखरेल र राप्रपा नेपालकी कुन्तीकुमारी शाही सदस्य छन् । समितिमा बिहीबार बिहान ११ बजेसम्म नमिलाई नहुने विषयमा लिखित निवेदन दिनका लागि सभासदहरूलाई आग्रह गरिएको छ । समितिले बिहीबार दिउँसो ३ बजेसम्म सबै शब्द र आनुसंगिक मिलाएर संविधानको प्रति सभाध्यक्षलाई बुझाउनेछ, आजको नागरिक दैनिकमा खबर छ ।

Womui
Womui