अव्यवस्थित खोप केन्द्र, खोप लगाउन आएकामाथि दुव्‍‍र्यवहार !

46

नेपालगन्ज– नेपालगन्ज उपमहागरपालिकामा संचालित खोप केन्द्र अव्यवस्थित रुपमा संचालन भइरहेको छ । नेपालगन्जमा पर्याप्त मात्रमा खोप केन्द्र संचालन नहुँदा पनि खोप लगाउनेलाई विभिन्न प्रकारका समस्या झेल्नु परिरहेको छ । सरकारले माघ ७ गतेदेखि सार्वजनिक स्थानहरुमा प्रवेशका लागि खोप कार्ड अनिवार्य गरेपछि खोप लगाउनेको भिडभाड ह्वात्तै बढेको हो ।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २ स्थित हनुमानगढी मन्दिर परिसरमा संचालनमा रहेको खोप केन्द्रमा पनि उत्तिकै भिडभाड देखिन्छ भने त्यहाँ खोप लगाउन आउने व्यक्तिमाथि दुव्‍‍र्यवहारका घटना पनि घटिरहेका छन् ।

घटनाः १– बुधबार २ घण्टा पालो कुरेर खोप लगाउन गएका डिल्लीरमण ओलीलाई खोपकेन्द्रका कृष्णप्रसाद केसीले दुव्‍‍र्यवहार गरेका छन् । करिब ढाइ घण्टा पालो कुरेर खोप लगाउन पुगेका ओलीलाई नगरप्रहरीले भित्र जान भनेपछि भित्र पसेका ओलीलाई केसीले भिडभाड धेरै भयो भन्दै बाहिर लखेटेका थिए । त्यसपछि नाम दर्ता गराउन गएका ओलीसँग अहिलेसम्म खोप किन नलगाएको भन्दै ठूल्ठूलो स्वरले हपारेका थिए । पहिलोपटक खोप लगाउन पुगेका ओलीले विविध कारणवश खोप नलगाएको जानकारी गराउँदासमेत केसीले आफ्नो पदको दुरुपयोग गर्दै खोप लगाएको भेटिए कारबाही गर्छु भन्न समेत भ्याए !

घटनाः २– खोप लगाउन गएका व्यक्तिलाई उमेर कति हो भनेर सोधियो । अनपढ उनलाई जन्म मिति र चलिरहेको साल अनुसार वर्ष भन्न सकिनन् । खोप केन्द्रका सहजकर्ताले उमेर पत्ता लगाएर आउन भन्दै फर्काइदिए । खोप लगाउन गएकी चन्डिका हितानले भनिन्,‘खोप लगाउन परिचय खुल्ने कागजात बुझाए पनि उनलाई दुःख दिने मनसायले पछि आउन भन्दै फिर्ता गरे ।’

घटनाः ३– बिहान ११ बजेदेखि खोप लगाउन लाइनमा बसेका व्यक्तिको २ बज्दासमेत पालो पाएनन् । तर भनसुन र चिनेजानेका आधारमा थुप्रै व्यक्तिले लाइनमै नबसी खोप लगाएर निस्किए । जुन कुरा चिनजानका आधारमा त्यस्तो भइहाल्ने एक स्वास्थ्यकर्मी बताउँछन् !

यी त प्रतिनिधि पात्र मात्र हुन् । यस्ता कयौं उदाहरण खोप केन्द्रमा उभिएपछि देखिन्छन् । सरकारबाट निःशुल्क प्राप्त खोपमाथि केही कर्मचारीले आफ्नै घरबाट खोप दिएको झैं हक जमाउँदा समेत यस्तो स्थिति सिर्जना हुने गरेका छन् । त्यति मात्र नभई खोप केन्द्रमा कोरोनाले केही असर गर्न सक्दैन भनेझैं उत्तिकै भिडभाड पनि देखिन्छ ।

नेपालगन्ज उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्द कुनै व्यक्तिले खोप लगायो कि लगाएन भन्ने आधार स्वयम् खोप लगाउने व्यक्तिनै भएको बताउँछन् । खोप लगाए नलगाएको कुरा पत्ता लगाउने केही मापदण्ड बनाउनु भएको छ भन्ने प्रश्नमा उनले भने,‘खोप लगाएको र नलगाएको भन्ने कुरा अनलाइन इन्ट्री वा फाराम भरिसकेपछि मात्र पत्ता लाग्छ ।’ खोप लगाए नलगाएको कुरा खोपकेन्द्रमा पत्ता लगाउन असम्भव हुने बताउँदै खोप लगाउन आएका व्यक्तिले भनेको कुरालाई सही मान्नु पर्ने प्रमुख चन्द बताउँछन् ।

कोरोना खोप लगाउनेको अस्वभाविक भिड नियन्त्रणका लागि स्थानीय तहले के कस्तो व्यवस्थापन गरेको छ भन्ने प्रश्नमा प्रमुख चन्दले बुधबार वडा नम्बर २ स्थित हनुमान गढीमा खोप लगाउन आउनेको संख्यामा वृद्धि आएको कुरालाई मध्यनजर गरी खोपकेन्द्रलाई व्यवस्थित गर्दै कारकाँदो, उदयपुर र जयसपुरमा पनि खोप केन्द्र संचालन गर्ने तयारी गरिरहेको बताए । यसबारे सूचना निकालेर सर्वसाधारणलाई जानकारी गराउने उनले बताए ।

बाँकेका फोकल पर्सन तेज ओली बाँके जिल्लालाई पुग्ने पर्याप्त मात्रामा खोप रहेको बताउँछन् । ओलीले पहिले खोप लगाउने व्यक्ति नभएरै धेरै खोप फिर्ता गर्नु परेको जानकारी दिँदै खोप नपाइला कि भन्ने नसोच्न सर्वसाधारणमा आग्रह गरे ।

Womui
Womui