नेपालगन्ज– बाँकेको राप्तीसेनारी गाउँपालिका वडा नम्बर २ टिकुलीपुरस्थित नवनिर्मित मितेरी पुलको उद्घाटन गरिएको छ । राप्तीसेनारी गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष मदन कुमार वलीले शनिबार पुल उद्घाटन गरेका हुन् ।
उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथिसमेत रहेका वडाध्यक्ष वलीले पुल निर्माणसँगै अब यस क्षेत्रमा यातायातका साधन लगायत स्थानीय सर्वसाधारणहरुलाई आवतजावत गर्न सहज हुने बताए । उनले वडाले समग्र विकास निर्माणका काममा लागेकोले बाटो, पुल, शिक्षा, स्वास्थ्य, खानेपानीलगायतका योजनाहरुलाई प्राथमिकतामा राखेको बताउँदै सबै विकास निर्माणको काममा वडा जनताको सहकार्य अगामी दिनमा पनि कायम रहने वडाध्यक्ष वलीले बताए ।
त्यस्तै विशिष्ट अतिथी पशुपंक्षी औषधी व्यवसाय संघका केन्द्रीय सदस्य झुपबहादुर विष्टले वडाको टिकुलीपुरमा सबैभन्दा ठूलो समस्या पुल भएको र अब पुल निर्माणपछि आवत जावतमा सहज भएपछि स्थानीय हर्षित भएको बताए । यहाँका जनप्रतिनिधिले अत्यन्तै मेहनतका साथ जनताको मनोभावना बुझेर काम गरेको बताए ।
राप्ती सोनारी गाउँपालिका वडा नम्बर २ को आफ्नै बजेट १७ लाख स्थानीय बासिन्दा झुप बहादुर विष्टको २ लाख ६० हजार सहयोग र मितेरी टोल विकास समितिको १ लाख १२ हजार रुपैयाँ लागतमा पक्की पुल निर्माण गरेको हो । पुलको लम्बाइ १७ मिटर र चौडाइ ५ मिटर रहेको छ । कार्यक्रम मितेरी टोल विकास समिति अध्यक्ष शेर बहादुर विष्टको सभापत्विमा सम्पन्न भएको थियो ।
यसैबीच पुल निर्माणका लागि व्यक्तिगत रुपमा २ लाख ६० हजार रुपैयाँ सहयोग गर्ने झुपबहादुर विष्टलाई मितेरी टोल विकास समितिको आयोजनामा वडा नम्बर २ का अध्यक्ष मदनकुमार वलीले दोसल्ला ओढाएर सम्मान गरेका छन् ।