नन्कुनी/निर्मला प्रकरणः छानविन समितिले बुझायो प्रतिवेदन

52

नेपालगन्ज– बाँकेका नकुन्नी धोबीको मृत्यु र निर्मला कुर्मी बेपत्ता प्रकरणका विषयमा गठित छानविन समितिले कार्यवाहक प्रधानमन्त्री एवम् गृहमन्त्री बालकृष्ण खाँणलाई प्रतिवेदन बुझाएको छ । गृह मन्त्रालयका सहसचिव हिरालाल रेग्मीको संयोजकत्वमा गठित छानविन समितिले प्रतिवेदन बुझाएको हो ।

गृहका प्रवक्ता फडिन्द्रमणि पोखरेलका अनुसार प्रतिवेदन बुझ्दै गृहमन्त्री खाँणले छानविनबाट निकालिएको निष्कर्ष कार्यान्वयनका लागि सम्बन्धित निकायमा पठाउने प्रतिबद्धता जनाएका छन् । उक्त समितिले प्रतिवेदनमा बाँकेको जानकी गाउँपालिका वडा नम्बर २ नेवाजी गाउँकी नकुन्नी धोबीको मृत्यु प्रकरणमा जिल्ला प्रहरी कार्यालय बाँकेमा माताप्रसाद धोबीले रामकुमार धोबी र इतवारी धोबी भन्ने लक्षिराम धोबीउपर जाहेरी दिएको उल्लेख गरिएको छ ।

प्रतिवेदनमा जाहेरीपछि अनुसन्धान भएर दुवै आरोपी हाल पुर्पक्षका लागि थुनामा रहेको र हाल मुद्दा विचाराधीन रहेको जनाइएको छ । यस्तै नेपालगन्ज उपमहानगरपालिका निवासी १७ का निर्मला कुर्मीको बेपत्ता प्रकरणमा भने जग्गाको कुरा जोडिएको प्रतिवेदनले औँल्याएको छ ।

समितिले निर्मला कुर्मीको घटनामा सम्बन्धित निकायबाट विज्ञसहितको टोली गठन गरी अनुसन्धान गर्न सिफारिश गरेको छ । उक्त समितिमा प्रहरी उपरीक्षक रामप्रकाश शाह, उपअनुसन्धान निर्देशक वीरेन्द्रसिंह कार्की, उपसचिव रामप्रसाद लम्साल, जिल्ला प्रशासन कार्यालय बाँकेका प्रशासकीय अधिकृत अमरराज सेजुवाल र मोहम्मद शेर बागवान सदस्य थिए ।

Womui
Womui