मन्त्री हमाललाई राप्ती सोनारीमा स्वागत

38

नेपालगन्ज– वन तथा वातावरण संरक्षण समन्वय समिति ओभरीले सोमबार लुम्बिनी प्रदेशका वन, वातावरण तथा भूसंरक्षण मन्त्री सुरेन्द्र हमाललाई स्वागत गरेको छ । लुम्बिनी प्रदेशका वन, वातावरण तथा भूसंरक्षण मन्त्री सुरेन्द्र बहादुर हमालले प्रदेशमा वन ऐनलाई छिट्टै कार्यन्वयन गर्ने बताएका छन् ।

वन तथा वातावरण समन्वय संरक्षण समिति ओभरीले आयोजना गरेको बधाई तथा स्वागत कार्यक्रममा जंगलभित्र सडे गलेका काठको व्यवस्थापन नहुँदा राज्यले ठूलो नोक्सानी बेहोर्नु परेकाले व्यवस्थापन गर्न लागेको मन्त्री हमालले बताए । उनले भने, ‘प्रदेशका १२ वटै जिल्लामा काठ जुन रुपमा यत्रतत्र छरिएका छन्, त्यो काठहरु व्यवस्थापन गर्न जति हामीले ढिला गर्छौं, त्यति राज्यको लागि नोक्सान हुन्छ, त्यसले राज्यलाई फाइदा गर्दैन ।’

काठको व्यवस्थापन नहुँदा त्यसै कुहिएर जाने र त्यसबाट राज्यले आर्थिक रुपमा ठूलो नोक्सानी बेहोर्नुपर्ने हुँदा चाँडो व्यवस्थापन गर्नका लागि मन्त्रालयले प्रक्रिया अगाडि बढाउने मन्त्री हमालले बताए । लुम्बिनी प्रदेशले बाँकेमा भू–संरक्षण कार्यालय र नौवस्तामा जडीबुटी उद्योग स्थापना गर्न जोड दिने मन्त्री हमालले बताए । काठको व्यवस्थापन गर्न आफूले १२ वटै जिल्लाबाट यसको तथ्यांक संकलन गर्न निर्देशन दिइसकेको उनको भनाइ छ ।

कार्यक्रममा राप्ती सोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारुले राप्ती सोनारीमा भएका विकासका बारेमा मन्त्री हमाललाई ध्यानाकर्षण गराएका थिए । राप्ती सोनारी गाउँपालिका ८ ओभरीमा भएको कार्यक्रममा जनप्रतिनिधि, कार्यकर्ता, वन संरक्षणकर्मीलगायतले मन्त्री हमाललाई बधाई दिँदै सफल कार्यकालका लागि शुभकामना पनि दिएका थिए । वन तथा वातावरण समन्वय संरक्षण समितिका अध्यक्ष तुलाराम खत्रीको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।

Womui
Womui