‘मोहम्मद डे’मा सार्वजनिक बिदा

42
फाइल तस्बिर ।

नेपालगन्ज– सरकारले कात्तिक २ गते पर्ने १४९६ औं मोहम्मद जयन्तीका अवसरमा मुस्लिम समुदायलाई सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले कात्तिक २ गते पर्ने इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद पैगम्बर सल्ललाहो अलैहे वसल्लमको १४९६ औं जन्म जयन्तीका अवसरमा बिदा दिने निर्णय गरेको हो ।

सरकारका प्रवक्तासमेत रहेका सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मोहम्मद जयन्तीमा मुश्लिम समुदायलाई सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिएका छन् ।

बाँकेका दुई पालिकाले दिए सार्वजनिक बिदा

बाँकेका दुई पालिकाले पनि १४९६ औं मोहम्मद जयन्तीका अवसरमा सार्वजनिक बिदा दिएका छन् । जानकी गाउँपालिका र नरैनापुर गाउँपालिकाले एक सूचना निकाल्दै उक्त कुराको जानकारी गराएको हो । मंगलवार एकदिन पालिकाभित्र सार्वजनिक बिदा दिने निर्णय गरेको पालिका अध्यक्ष शैयद ईश्तियाक अहमद शाहले जानकारी दिएका छन् ।

इस्लाम धर्मावलम्बीले धुमधामका साथ मनाउने ‘मोहम्मद डे’ मोहम्मदको जन्म इस्लामी पात्रो हिजरी सम्वतको रब्बी अव्वल महिनामा साउदी अरबको मक्कामा बीबी आमिनाको कोखबाट भएको बताइन्छ । उनको निधन ६३ वर्षको उमेरमा साउदीकै मदिनामा भएको थियो ।

मोहम्मदको जन्मदिनमा विभिन्न नाअत शरिफ वाचन गर्ने तथा उनका उपदेश र वाणीको स्मरण गर्ने गरिन्छ । बाँकेमा रहेका इस्लाम धर्मावलम्बीहरुले हजरत मोहम्मदको जन्म दिनका अवसरमा एकआपसमा खुसीयाली साट्दै बाजागाजाका साथ र्‍याली निकाल्ने गर्दछन ।

Womui
Womui