राप्ती सोनारीका कोरोना संक्रमितलाई जनही ५ हजार रुपैयाँ वितरण

103

नेपालगन्ज– बाँकेको राप्ती सोनारी गाउँपालिका क्षेत्रका कोरोना संक्रमित ब्यक्तिलाई राहत रकम वितरण सुरु गरिएको छ । गाउँपालिका कार्यालयले आइतबारबाट जनही ५ हजार रुपैयाँका दरले वितरण सुरु गरेको हो । गाउँपालिकाको कार्यालयमा एक कार्यक्रमको आयोजना गरी आइतबार गाउँपालिका अध्यक्ष लाहुराम थारु, वडा अध्यक्ष महावीर ओली लगायतले उनीहरुलाई राहत वितरण गरेका हुन् ।

गाउँपालिकाले केही महिनाअघि कोरोना संक्रमित भएका ब्यक्तिलाई राहत रकम प्रदान गर्ने निर्णय गरेको थियो । यसअघि गाउँपालिकाले कोरोना संक्रमणबाट मृत्यु भएका ब्यक्तिका परिवारलाई किरिया खर्च वापत जनही २० हजार तथा राहत स्वरुप एक लाख रुपैयाँ प्रदान गरिसकेको छ । गाउँपालिका अध्यक्ष लाहुराम थारुले मुत्युको शैयाबाट फर्केका कोरोना संक्रमित ब्यक्तिलाई हौसला प्रदान गर्न र सर्बसाधारणलाई कोरोना परिक्षणका लागि अभिप्रेरित गर्ने उद्देश्यले रकम प्रदान गरिएको बताए । कोरोना संक्रमितलाई रकम दिनेमा राप्ती सोनारी सम्भवतः देशकै पहिलो गाउँपालिका भएको उनको दाबी छ ।

गाउँपालिकाले आइतबार पहिलो दिन मात्रै कोरोना संक्रमित भएर निको भएका ८० जना ब्यक्तिलाई ४ लाख रुपैयाँ वितरण गरेको अध्यक्ष थारुले जानकारी दिए । गाउँपालिका क्षेत्रभित्र ७ सय ५० जना कोरोना संक्रमित ब्यक्ति रहेको तथ्यांक गाउँपालिकासँग छ । ‘सकभर दसैँ अगाडि नै सबै ब्यक्तिलाई रकम वितरण गर्ने हाम्रो योजना छ,’ अध्यक्ष थारुले भने, ‘सबैलाई वितरण गर्दासम्म ३७ लाख ५० हजार जति खर्च हुने हाम्रो अनुमान छ ।’

गाउँपालिकाले यसअघि कोरोना संक्रमणबाट मृत्यु भएका २३ जना ब्यक्तिका परिवारलाई किरिया खर्च वापत २० हजार र राहत स्वरुप एक लाख रुपैयाँ प्रदान गरिसकिएको अध्यक्ष थारुले जानकारी दिए । ‘हामीले मृतकका परिवारलाई किरिया खर्च र राहत रकम प्रदान गरिसकेका छौंं,’ उनले भने ‘कोरोना संक्रमित भएर निको भएपनि उनीहरु मृत्युको शैयाबाट बाँचेर फर्केका हुन्, उनीहरुको पनि उपचारका क्रममा गाडीभाडा, फलफुल, औषधी उपचारमा थुप्रै पैसा खर्च भएको छ, त्यसमा थोरै भए पनि राहत मिलोस् भन्ने पनि हो ।’

गाउँपालिका अध्यक्ष थारुलाई पनि कोरोना संक्रमण भएको थियो । उनीसहित उपाध्यक्ष धनीकुमारी खत्री तथा वडाका जनप्रतिनिधि र थुप्रै कर्मचारी संक्रमित भएर निको हुनु भएको थियो । राप्ती सोनारी–६ का वडासदस्य तारा कसेराको त कोरोना संक्रमणबाटै मृत्यु भयो । आफू स्वयं कोरोना संक्रमित भएर निको भएको र अझै स्वास्थ्यमा पूर्ण रुपले सुधार नआएको उनले सुनाए । ‘यो रकम मृत्युको शैयाबाट बाँचेर फर्केका ब्यक्तिलाई हौसला प्रदान गर्नलाई हो, अर्को कुरा गाउँपालिकाले कोरोना संक्रमितलाई पनि पैसा दिन्छ भन्ने थाहा पाएपछि कोरोना परीक्षण गराउनेको संख्या बढ्न सक्ने र त्यसले कोरोना महामारी नियन्त्रणमा पनि सहयोग पुग्ने हामीलाई विश्वास छ,’ अध्यक्ष थारुले भने, ‘पहिला त गाउँपालिकाले पैसा दिन्छ भनेर कसैलाई विश्वास थिएन, अहिले जब पैसा पाउन थाले, धेरै जना व्यक्तिहरु सम्पर्कमा आउन थालेका छन् ।’

Womui
Womui