६६औं प्रहरी दिवस मनाइयो

51

नेपालगन्ज– नेपाल प्रहरीले आफ्नो स्थापनाको ६६औं वार्षिक उत्सव मनाउने क्रममा बाँके प्रहरीले पनि बुधबार विभिन्न कार्यक्रमको आयोजना गरी मनाएको छ ।
६६औं प्रहरी स्थापना दिवसको अवसरमा मंगलबार बिहान जिल्ला प्रहरी कार्यालय बांकेले अमर प्रहरीहरुका परिवारहरुलाई सम्मान, विभिन्न प्रहरी चौकी स्थापनाका लागि दान गरेका जग्गादाता, उत्कृष्ट कार्य गर्ने बाँकेका २६ जना प्रहरी कर्मचारीलाई सम्मान गर्नुका साथै बाँके प्रहरीले स्थपना दिवसको अवसरमा आयोजना गरिएको ब्याडमिन्टन, टेवलटेनिस तथा कुर्ची दौड प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुनेलाई पुस्कृत गरेको छ ।

कार्यक्रममा बोल्ने वक्ताहरुले प्रहरी विगतको तुलनामा नागरिक मैत्री बन्दै गइरहेको बताए । नेपाल प्रहरीले शान्ति सुरक्षा कायम गर्नमा गरेको योगदान सह्रानायोग्य रहेको उनीहरुको भनाइ थियो ।

कार्यक्रममा बोल्दै अमर प्रहरी परिवार संघ बाँकेका अध्यक्ष एवम् खजुरा गाउँपालिका उपाध्यक्ष एकमाया विकले बाँकेमा अमर प्रहरीहरुको शालिक राख्न मिल्ने पार्कको आवश्यकता औंल्याइन् । विगतदेखि नै आफूहरुले उक्त आवश्यकताको बारेमा कुरा उठाए पनि त्यसको सुनुवाइ नभएको उनको भनाइ थियो । विकले अमर प्रहरीका परिवार र उनीहरुका सन्तानको शिक्षा, दिक्षा र रोजगारीको उचित व्यवस्था गर्ने काम राज्यले गर्न नसकेको बताइन् । उनले द्वन्द्वकालमा गैरन्यायिक रुपले मृत्युवरण गरेका प्रहरीहरुको मुद्धा सत्य निरुपण तथा मेलमलिाप आयोगले तामेलीमा राखेकोमा पनि आपत्ति जनाइन् ।

कार्यक्रममा बोल्दै बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले नेपाल प्रहरी अब जनताको साथी बनिसकेको बताए । उनले नागरिक र प्रहरीको सहकार्यबाट नै समाजलाई अपराधमुक्त र शान्त राख्न सकिने धारणा राखे । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी श्यामकृष्ण अधिकारीले विभिन्न कालखण्डमा देशमा आएका परिवर्तनहरुमा नेपाल प्रहरीले सधैं आफ्नो जिम्मेवारी पूरा गर्न सफल रहेको बताए । उनले बाँकेमा अमर प्रहरीको शालिक राख्न मिल्ने स्थलको व्यवस्थाका लागि आफ्नो तहबाट सकिने पहल गर्ने बताए ।
लागु औषधविरुद्धको निस्तेज महाअभियान विमोचन

त्यसैगरी प्रहरी स्थापना दिवसको अवसर पारेर बाँके प्रहरीले प्रकाशन गरेको ‘लागु औषधविरुद्धको निस्तेज महाअभियान’ नामक स्मारिका पुस्तकको पनि विमोचन गरिएको छ । बाँके जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरु बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, नेपाली सेनाका राँझास्थित भैरव प्रसाद गणका गणपति जनमत कार्की, सशस्त्र सीमा सुरक्षा बलका प्रमुख अशोक कुमार बमले सयुंक्त रुपमा उक्त पुस्तकको विमोचन गरेका हुन् ।

लागु औषध नियन्त्रणमा महत्वपूर्ण मार्गदर्शन बन्न सक्ने गरी प्रकाशन गरिएको ‘लागु औषध निस्तेज महाअभियान’ पुस्तक विमोचन प्रकाशनकामा सहयोग गर्ने, सम्पादन तथा लेखन मण्डललाई विशेष आभार तथा धन्यबाद ज्ञापनसहित प्रशंसा पत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा राष्ट्रिय अनुसन्धान बाँकेका प्रमुख नरेन्द्रराज गिरी, राप्ती सोनारी गाउँपालिका उपाध्यक्ष धनीकुमारी खत्री, खजुरा गाउँपालिका उपाध्यक्ष विक, सामुदायिक प्रहरी सेवा केन्द्र नेपालगन्जका अध्यक्ष दीपेन्द्रकुमार जोशी, हिन्दू धर्मगुरु चन्दननाथ योगी, मुस्लिम धर्मगुरु मौलाना अब्दुल जब्बार मन्जरी एवम् भूतपूर्व प्रहरी, अमर प्रहरीका परिवार एवम् पत्रकारहरुको उपस्थिति रहेको थियो ।

Womui
Womui