मास्क बैंकद्वारा एक लाख बढी मास्क वितरण

58

नेपालगन्ज– वैशाखको पहिलो हप्ता कोभिडको पहिलो कहरले बाँकेलाई थिलथिलो बनायो । सबै तह र तप्का कोभिडविरुद्धको प्रतिकार्यमा डटे । प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रले स्वास्थ्य सामाग्री हस्तान्तरणका लागि अपिल ग¥यो । जस अनुरुप विभिन्न गैससहरु स्वस्फूर्त रुपमा सहयोग संकलन र हस्तान्तरणमा जुटे । गैसस महासंघ नेपाल बाँकेको संयोजनमा बासलगायतका संस्थाहरुले विभिन्न स्वास्थ्य सामाग्री वैशाखको दोश्रो साता डिसिसिएमसीलाई हस्तान्तरण गरे । कोभिडको कहरले अवस्था असमान्य बन्दै थियो । गैससहरु सहयोगमा जुटिरहे ।

कोभिडका बिरामीहरुको संख्यासँगै मृतकको संख्या बढिरहँदा बास नेपालले मास्क बैंक स्थापनाको प्रस्ताव सामाजिक सञ्जालमार्फत् ग¥यो । जसको राम्रो प्रतिकृया प्राप्त भयो । प्रश्तावलाई समर्थन गर्दै कञ्चनपुर अदालतका न्यायाधीश कृष्णलाल भट्टराईले हौसला प्रदान गर्दै १० हजार प्रदान गरे । अभियान सञ्चालन गर्नु पूर्व यमुना रोकायले आफ्नो जन्मदिनमा २ हजार सहयोग गरिसकेकी थिइन् ।

मास्क बैंक स्थापना गरी समुदायमा मास्क वितरण गर्ने उद्देश्य लिइएको उक्त मास्क बैंकको जेठ ३ गते नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डाक्टर धवल शमशेर राणा र उपप्रमुख उमा थापा मगरले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।

उक्त अभियानका लागि देश, विदेशबाट सहयोग प्राप्त भयो । अमेरिकामा रहेका जुली वली र प्रदिप जिएमले १ लाख ३७ हजार ८ सय ८०, अञ्जली सिंहले ५१ हजार ५ सय ७४, रवि शाहले ११ हजार ३ सय ७७ सहयोग गरे । अमेरिका, फ्रान्स, मलेसिया, जापान, अष्ट्रेलिया, थाइल्याण्ड, दुबईदेखि सहयोगी मनहरु यस अभियानमा जोडिए । नेपालगन्ज क्षेत्र, कैलाली, काठमाडौं, रुपन्देही, सुर्खेत, दैलेख, रुकुम, गोरखा, दाङ, रोल्पा, जाजरकोट, सल्यान, बर्दियालगायतबाट युवा, गैससकर्मी, व्यवसायी, राष्ट्रसेवक, जनप्रतिनिधि, इन्जिनियर, कानुन व्यवसायी, समाजसेवीहरुले अभियानको सफलताका लागि आर्थिक सहयोग गरे ।

यसरी देश, विदेशबाट ७ लाख ४५ हजार ३ सय १९ रुपैयाँ सहयोग प्राप्त भयो । उक्त रकमबाट मास्क खरिद गर्दै मास्क प्रदान गर्ने कार्यलाई बासले देशव्यापी बनायो । मास्क बैंकबाट बासले बासका १८ वटा शाखा, उपशाखामार्फत् झापा, मोरङ, कास्की, दोलखा, सुनसरी, स्याङ्जा, इलाम, नवलपुर, रुपन्देही, सिन्धुपाल्चोक, अर्घाखाँची, दोलखा, सुर्खेत, कालिकोट, अछाम, कैलाली र बर्दियामा १८ हजार ५ सयवटा मास्क वितरण गरेको थियो ।

यसैगरी बास नेपालले मास्क बैंकबाट प्रत्यक्ष रुपमा ४ हजार ६० वटा, विभिन्न संघ, संस्थामार्फत् लक्षित वर्गलाई ३३ हजार ५ सय मास्क वितरण गरेको थियो । त्यसैगरी विभिन्न अस्पतालहरुलाई २ हजार ४ सय ४०, स्वास्थ्यकर्मीहरुलाई १३ सय मास्क वितरण गरेको बासले १५ थान ग्लोब्स, ३ सय थान सेनेटरी प्याड स्वास्थ्यकर्मीहरुलाई प्रदान गरेको थियो । यसैगरी समुदायस्तरमा ४१ हजार ३ सय ५० र सुरक्षाकर्मीहरुलाई १२ सय मास्क वितरण गरिएको थियो ।

यसरी बासले मास्क बैंकमार्फत् १ लाख ४ हजार ७ सय मास्क असार महिनासम्म वितरण गरेको छ । यसैगरी बासले मास्क बैंकबाट स्वास्थ्यकर्मीहरुलाई १ सय वटा सेनिटाइजर, सल्यानका ३० परिवारलाई २५ सयका दरले खाद्यान्न, सिन्धुपाल्चोकको हेलम्बुका ३५ घर परिवार बाढी पीडितहरुलाई २५ सयका दरले खाद्यान्न, सरसफाइ तथा स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।

हाल बैंकमा ७ हजार ५ सय मास्क मौज्जाद रहेको बासले जनाएको छ । मास्क बैंकमा विभिन्न दाताबाट प्राप्त ७ लाख ४५ हजार ३ सय १९ रुपैयाँमध्ये ४ लाख ८० हजार २ सय ६० रुपैयाँ मास्क खरिदमा खर्च भएको छ, सेनेटरी प्याडमा १२ हजार ७ सय ५०, ग्लब्समा १७ हजार २ सय ९० रुपैयाँ खर्च भएकोमा खाद्यान्नमा १ लाख ६२ हजार ५ सय रुपैयाँ खर्च भएको छ । मास्क बैंक र कोभिड १९ प्रतिकार्य अभियानको खर्च विवरण बासले भाद्र १७ गते सम्पन्न बासको १८ औं वार्षिक साधारण सभामा सार्वजनिक गरेको थियो ।

Womui
Womui