राप्तीसोनारीले दियो सर्पदंश केन्द्रलाई एम्बुलेन्स

52

नेपालगन्ज–राप्तीसोनारी गाउँपालिकाले सर्पदंश उपचार केन्द्रलाई एम्बुलेन्स दिएको छ । पालिकाको लगानीमा वडा नम्बर ८ मा रहेको सर्पदंश उपचार केन्द्रलाई १२ लाख रुपैयाँको एम्बुलेन्स एक कार्यक्रमकाबीच हस्तान्तरण गरेको हो ।

एम्बुलेन्स हस्तान्तरणमा पालिकाका अध्यक्ष लाहुराम थारुले वडा नम्बर ८ का वडा अध्यक्ष एवम् सर्पदंश उपचार केन्द्र व्यवस्थापन समितिका अध्यक्ष खुमबहादुर बस्नेतलाई एम्बुलेन्स हस्तान्तरण हुन् । पालिकाले एम्बुलेन्स दिएपछि सबै प्रकारका बिरामीलाई उपचारका लागि ल्याउन र लैजान सहज हुने वडा अध्यक्ष बस्नेतले बताएका छन् ।

पालिकालाई स्वास्थ्यका क्षेत्रमा दीर्घकालीनरुपमा सबल बनाउनका लागि विभिन्न क्षेत्रसँगै केन्द्रलाई पनि एम्बुलेन्स हस्तान्तरण गरिएको गाउँपालिका अध्यक्ष लाहुराम थारुले बताएका छन् । त्यस्तै पालिका उपाध्यक्ष धनीकुमारी खत्रीले हरेक नागरिकलाई स्वास्थ्यको पहुँचमा पुर्‍याउन गाउँपालिकाले सकेसम्मको काम गरिरहेको बताइन् ।
हालसम्म पालिकामा ६ वटा एम्बुलेन्स रहेका छन् । स्वास्थ्य क्षेत्रमा नागरिकको पहुँच सहज बनाउन फत्तेपुर स्वास्थ्य चौकी वडा नम्बर ७, बिनौना स्वास्थ्य चौकी वडा नम्बर ५, राप्तीसोनारी अस्पताल १, स्वास्थ्य चौकी कुशुम वडा नम्बर १, कचनापुर स्वास्थ्य चौकी वडा २, वडा नम्बर ८ सर्पदंश उपचार केन्द्र एउटा/एउटा एम्बुलेन्स रहेका छन् भने पालिकाले आफ्नै लगानीमा ४ वटा एम्बुलेन्स वितरण गरिसकेको छ ।

एम्बुलेन्स हस्तान्तरणमा अर्जुनवाण गणका प्रमुख मिलनध्वज खाँड, नेपाल रेडक्रस सोसाइटी जिल्ला सभापति गोबर्धनसिंह सम्झना, नेपाल रेडक्रस सोसाइटी कचनापुर सभापति नरेन्द्रकुमार पौडेल, वडा नम्बर १ का वडा अध्यक्ष चन्द्रबहादुर वलीलगायतको सहभागिता रहेको थियो ।

Womui
Womui