३५ जनालाई सिलाइकटाई तालिम, २ सय विद्यार्थीलाई ड्रेस वितरण

51

नेपालगन्ज– बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर ३ मा सञ्चालित ३ महिने सिलाइकटाई तालिम समापन भएको छ । वडा नम्बर ३ मा अवस्थित बागेश्वरी सामुदायिक वन उपभोक्ता समूहले आयोजना गरेको तीन महिने सिलाइकटाई तालिममा ३५ जना सहभागी भएका थिए ।

तालिम समापनका अवसरमा कार्यक्रमका प्रमुख अतिथि रहेका वडा नम्बर ३ का वडाअध्यक्ष गंगाराम थारुले तालिममा सिकेको कुरालाई व्यवहारमा उतार्नु पर्नेमा जोड दिएका छन् । अध्यक्ष थारुले सिकेको सीपलाई आर्यआर्जनमुखी बनाउन सहभागीलाई आग्रहसमेत गरे ।

समूहका अध्यक्ष जोगीलाल थारुको अध्यक्षतामा समापन भएको कार्यक्रममा सहभागीलाई प्रमाण पत्र समेत वितरण गरिएको थियो । तालिममा सिकेका कुरालाई प्रमाण पत्रमा मात्र सीमित नराख्न समूहका अध्यक्ष थारुले आग्रह गरेका थिए ।

यसैबीच सोही कार्यक्रममा समूहमा आबद्ध गरिब तथा विपन्न वर्गका २ सयजना विद्यार्थीलाई स्कुल ड्रेस वितरण गरिएको छ । आर्थिक समस्यामा जीवन व्यतित गरिरहेका विपन्न वर्गका विद्यार्थीलाई छनोट गरेर उक्त स्कुल ड्रेस वितरण गरिएको हो । नयाँ स्कुल ड्रेस पाएपछि विद्यार्थीको शिक्षाप्रति मोह बढ्ने र स्कुल जान विद्यार्थीलाई उत्साहित गर्ने उद्देश्यले स्कुल ड्रेस वितरण गरिएको समूहका अध्यक्ष जोगीलाल थारुले बताए ।

Womui
Womui