न्यायिक प्रक्रियामा डुडुवा उत्कृष्ट

165

डुडुवा–स्थानीय तह अन्तर्गत रहेका न्यायिक समितिहरुको कामकारबाही प्रक्रिया तथा सेवालाई थप गुणस्तरीय र प्रभावकारी बनाउन बाँके जिल्ला अदालतको टोलीले निरीक्षण गरेको छ । जिल्ला न्यायाधीशसहितको टोलीले मंगलबार बाँके डुडुवा गाउँपालिकाको न्यायिक समितिको निरीक्षण तथा कामकारबाहीबारे छलफल गरेको हो ।
गाउँपालिका अन्तर्गत रहेको न्यायिक समितिले प्रदान गर्ने सेवा, मुद्दा तथा विवाद दर्ता, मिसिलको व्यवस्थापन, राय तथा निर्णय र फैसलालगायत विभिन्न प्रक्रियाका बारेमा उपाध्यक्ष तथा न्यायिक समितिका संयोजक शाहिदा बानोले जानकारी गराएकी थिइन् ।

त्यस अवसरमा जिल्ला अदालतका न्यायनधीश दुर्गाबहादुर भुषालले न्यायिक समितिको काम कर्तव्य अधिकार, न्यायिक प्रक्रिया, मुद्दा दर्ता, मिसिल, निवेदनका ढाँचा, मुद्दाका विषयलगायत विभिन्न अदालती प्रक्रियाका बारेमा जानकारी दिएका थिए । न्यायाधीश भुषालले न्यायिक सम्पादनका क्रममा उत्पन्न विभिन्न समस्या समाधान गर्न कुनै पनि समस्या आइ परेमा जिल्ला अदालत जहिले पनि तयार रहेको आश्वासन दिँदै न्यायिक समितिलाई अदालतका कामकारबाही प्रक्रिया बारेमा आएर जानकारी लिन समेत आग्रह गरे ।

त्यस क्रममा अदालतको अनुगमन टोलीले विभिन्न न्यायिक समितिका पदाधिकारीहरुलाई अदालती प्रक्रिया र अभिलेखीकरणका बारेमा आवश्यक जानकारी गराएको थियो । भेटघाटमा न्यायिक समिति सदस्य रिता परियार, कार्यपालिका सदस्य लिलावती यादव, प्रमुख प्रशासकीय अधिकृत प्रशुराम उपाध्याय, कानुनी सल्लाहकार अधिवक्ता इश्वरी प्रसाद ज्ञवालीलगायतको सहभागिता रहेको थियो ।

निरीक्षण टोलीमा अदालतका श्रेस्तेदार तीर्थराज भट्ट, शाखा अधिकृत गणेश रिजाल र गणेश प्रसाद भट्ट र नासु देबेन्द्र देवकोटाको पनि सहभागिता थियो भने टोलीले समितिमा रहेका विभिन्न अभिलेखीकरण गरिएका फाइल, मिसिल, रजिस्टर समेत अध्ययन गरेको थियो । अध्ययनका क्रममा जिल्लाका अन्य स्थानीय तहहरु भन्दा डुडुवाको अभिलेखीकरणको व्यवस्थापनको कार्य उत्कृष्ट रहेको पाइएको न्यायाधीश भुषालले बताए । निरीक्षणपछि अदालतले प्रतिवेदन समेत प्रदान गर्ने जनाएको छ ।

Womui
Womui