रहेनन् बी योर सेल्फका अध्यक्ष शाह

265

नेपालगन्ज– बी योर सेल्फ का परिकल्पनाकार एवम् संस्थापक अध्यक्ष गौरब शाहको असमायिक निधन भएको छ । समाजसेवी प्रदीप शाहका २२ वर्षीय सुपुत्र गौरब शाहको असार १ गते निधन भएको हो । उनको निधनले बी योर सेल्फका सदस्यहरु मर्माहत भएको बताएका छन् । ‘उनी हामी माझ नभए पनि हाम्रो हृदयबाट कहिल्यै मेटिनु हुनेछैन,’ बी योर सेल्फले बताएको छ ।

आफू आफू भएर बाँच्न सके अरुलाई पनि खुसी दिन सकिन्छ भन्ने अभियानका साथ मृतक शाहले नेपालगन्जका युवालाई एकत्रित गर्दै संस्थाको सुरुवात गरेका थिए । घरबाट पाउने पकेट खर्च बचाउँदै ‘बी योर सेल्फ’ मार्फत् आवश्यकतामा परेका र गरिबी दुःखीको सेवा गर्दै आएका शाहले सामान्य पकेट खर्च बचाएर पनि समाज सेवा गर्न सकिन्छ भन्ने उदाहरण दिन सफल भएका थिए ।

‘सेभ मनी सेभ वन लाइफ‘ अर्थात् पैसा बचाएर अरुलाई सहयोग गरौं भन्ने उद्देश्य लिएर ‘बी योर सेल्फ’को सुरुवात गरेका शाहले घरबाट पाउँदै आएको पकेट खर्च बचाएर आवश्यकतामा परेका धेरै व्यक्तिहरुको सहयोग गरेका थिए । शाहले समाजमा छरिएर रहेका युवालाई समाज सेवामा अग्रसर गराउँदै थोरै थोरै रकम जम्मा गरेर निल सागर वृद्धाश्रममा रहेका वृद्धवृद्धाका लागि खानाको व्यवस्था, बागेश्वरी मन्दिर र बाटोमा भौँतारिएर बसेका व्यक्तिलाई खाना खुवाउने काम गरेका थिए । त्यस्तै सडकमा भौँतारिएर हिँड्ने कुकुरलाई दूध र खाना, विपन्न वर्गका परिवारलाई खाद्यान्न सहयोगलगायत लकडाउनका अवधिमा गरिब तथा विपन्न परिवारलाई खाद्यान्न सहयोग गरेको थिए ।

आठजना युवालाई साथमा लिएर मृतक शाहले पकेट खर्चबाट जम्मा गरेको पैसाले सामाजिक कार्यका लागि एक दिन खाजा हामीसँग जस्ता अभियान चलाउँदै खाजा बिक्रीबापत आएको रकमले कुपोषण बालबालिकालाई समेत सहयोग गर्ने गरेका थिए । सानोतिनो आवश्यकताबाट ग्रसित व्यक्तिलाई सहयोग गर्दै जाने बताउने संस्थापक शाहको निधनले समाजले अपूर्णीय क्षति व्यहोरेको छ ।

यस दुःखको घडीमा मृतआत्माको चिर शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति ईश्वरले प्रदान गरुन् भन्दै छिनछिन खबर पब्लिकेसन प्रालि भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ ।

प्रतिक्रिया दिनुहोस्

Womui