सुरक्षित रहन गाउँपालिका अध्यक्ष लाहुराम थारुको आग्रह

124

बाँके(राप्तीसोनारी)– वर्षालागेसँगै राप्ती नदीमा पानीको बहाव पछि तटीय क्षेत्रमा डुबान तथा कटान बढ्ने भएकाले सर्तक रहन राप्तीसोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारुले आग्रह गरेका छन् ।

गाउँपालिका अध्यक्ष थारुले नदी तटीय क्षेत्रका बासिन्दा तथा सम्पूर्ण गाउँवासीलाई उच्च सतर्कता अपनाउन आग्रह गर्दै नदीजन्य सम्भावित जोखिमको निगरानी राख्न विपद् व्यवस्थापन शाखाका तालिम प्राप्त जनशक्ति, प्रभावित क्षेत्रका प्रतिनिधि तथा वडा कार्यालय, गाउँपालिकास्थित सुरक्षा निकायका साथै मानवीय सहयोगी संघसंस्था तथा निकायलाई उद्धार र व्यवस्थापनका लागि तयारी अवस्थामा रहनसमेत आग्रह गरेका छन् ।

राप्तीनदी पूर्व पर्ने मटेहिया, जमुनाह, भगवानपुर, सोनवर्षा, गंगापुर, लालपुर, धामपुर, रामपुर, गौरीगाउँ, महु, ललै, पटरिया, रिहारडाँडा, चिलहरिया, सुनपसरी, विनौनाजस्ता नदीपूर्वका वस्ती पनि जोखिममा छन् । खल्ला झगडिया, बसन्तपुर, पहाडीपुर, देउपुरा र प्रिपहवा गाउँपनि खतरामा छन् । नदी पूर्वका वस्ती र पश्चिमका प्रिपहवा, चौफेरीलगायतका ठाउँमा बाढी र डुबानको उच्च जोखिममा रहेपछि अध्यक्ष थारुले उच्च सावधानी अपनाउन त्यहाँका नागरिकलाई अपिल गरेको हुन् ।
राप्ती नदीमा पानीको बहाब बढ्दा राप्तीसोनारीलगायत नरैनापुर गाउँपालिका र डुडुवा गाउँपालिका गाउँबस्ती बर्सेनि डुबानको चपेटामा पर्दै आएका छन् ।

निरन्तर वर्षा भइरहेको अवस्थामा गाउँपालिकावासीलाई अनावश्यक काममा घर बाहिर ननिस्किन, जोखिम क्षेत्रका गाउँवासीको सुरक्षाको लागि सम्बन्धित सरोकारवालालाई सतर्क रहन र वृद्धवृद्धा, असक्त, बालबालिका तथा महिलाहरुको उचित हेरचाह र विशेष ख्याल गर्न समेत अध्यक्ष थारुले अनुरोध गरेका छन् । अध्यक्ष थारुले सम्पूर्ण गाउँपालिकावासीलाई उच्च सतर्कता अपनाइ डुबान तथा नदी कटानलगायतका सूचना पाए तत्काल सम्बन्धित वडा कार्यालय तथा नजिकैको सुरक्षा निकायलाई जानकारी दिन सुझाएका छन् ।

राप्तीसोनारी गाउँपालिकाका १ देखि ९ वटा वडाका ५२ गाउँबस्ती बर्सेनि बाढी र डुबानबाट पीडित बन्दै आएका छन् । यस्तो अवस्थामा गाउँपालिकाले बर्सेनि ठूलो रकम बाढी पीडितका लागि छुट्याउँदै आएको छ । गाउँपालिकाले छुट्याउँदै आएको रकम अपुग हुने भएकाले यस्तो अवस्थामा संघसंस्थालाई पनि सहयोग गर्न अध्यक्ष थारुले आग्रह गरेका छन् । अध्यक्ष थारुले भने,‘बर्सेनि गाउँपालिकाका ५२ गाउँबस्ती बाढी तथा डुबानले पीडित बन्दै आएका छन् । यस्तो अवस्थामा गाउँपालिकाको एकल प्रयासले पीडितको उद्धार सम्भव नहुने भएकाले गाउँपालिकास्थित सुरक्षा निकायका साथै मानवीय सहयोगी संघसंस्था तथा निकायलाई सहयोग गर्न आग्रह गर्दछु ।’
अध्यक्ष थारुका अनुसार गाउँपालिकाले बाढीपीडितको उद्धारका लागि  डुंगा, तालिम प्राप्त जनशक्ति (गोताखोर), लाइफ जकेट, खाद्यान्न, लत्ता कपडा, भाँडाकुँडालगायतका आवश्यक सामग्री तयारी अवस्थामा राखेको छ भने बाँकेका एसपी ओमबहादुर राणाले ती क्षेत्रमा उद्धार र राहतका लागि सुरक्षाकर्मीलाई तयारी अवस्थामा राखिएको जानकारी दिए ।

Womui
Womui