मादक पदार्थ सेवन गराई दुई राउटे युवतीसँग दुर्व्यवहार गर्ने तीन पक्राउ

180
तस्बिरः बिजी एफएम

सुर्खेत-  दुई राउटे युवतीलाई मादक पदार्थ सेवन गराई होटलमा लगेर दुर्व्यवहार गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सुर्खेतस्थित गुर्भाकोट नगरपालिका मेहलकुनाबाट होटल सञ्चालकसहित तीन जनालाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ गरिएको हो । दुर्व्यवहार गर्ने युवाहरुले राउटे युवतीसँग दुर्व्यवहार गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गरेका थिए ।

पक्राउ पर्नेमा गुर्भाकोट नगरपालिकाका ३५ वर्षीय दोमनबहादुर घर्ती, २४ वर्षीय भुपेन्द्र बुढा र २९ वर्षीय होटल सञ्चालक बिनोद पुन रहेको प्रहरी चौकी मेहेलकुनाले जनाएको छ । भिडियो सामाजिक सञ्जालबाट सार्वजनिक भएपछि स्थानीयले तत्काल अनुसन्धान गरी कारबाहीको माग गरेका थिए। पछिल्लो समय सामाजिक सञ्जाल युट्युव, टिकटक र फेसबुकमा भाइरल भएका राउटे समुदायका युवतीहरूमाथि दुर्व्यवहार हुन थालेको छ ।

भिडियो, फोटो खिच्न भन्दै राउटे समुदायमा पुग्ने स्थानीय युवाहरूबाट राउटे युवती दुर्व्यवहारको सिकार भएका हुन् । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यसअघि लेकवेशी नगरपालिकाको कल्याणमा बस्दै आएका राउटे समुदाय केही दिनअघि मात्रै गुर्भाकोट नगरपालिका वडा नं. ११ आँपसोती जनैघाटस्थित भेरी नदीमा बसाइ सरेका हुन् ।

Womui
Womui