स्वास्थ्यकर्मी कुटपिटः छानबिन समिति गठन, गृहले भन्यो–दोषीलाई कारबाही हुन्छ

141
दोषीलाई कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय पुगेका स्वास्थ्यकर्मीहरु ।

नेपालगन्ज– नेपालगञ्जस्थित भेरी अस्पतालका डाक्टर र नर्समाथि भएको कुटपिटबारे सत्यतथ्य छानविन गर्न समिति गठन भएको छ। सहायक प्रमुख जिल्ला अधिकारी शंकरबहादुर विष्टको नेतृत्वमा शुक्रबार ७ सदस्यीय समिति गठन भएको छ । तीन दिनभित्र प्रतिदेवन दिने गरी समिति गठन गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिए ।

समितिमा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक, भेरी अस्पताल प्रतिनिधि, व्यवस्थापन प्रतिनिधि, नेपाल मेडिकल एशोसियसन प्रतिनिधिलगायत रहेका छन्। भेरी अस्पतालमा बिहीबार बेलुकी ८ बजे उपचारका क्रममा कोरोना संक्रमित तुलसीपुर उपमहानगर ११ का ५४ वर्षीय डिल्लीबहादुर रावतको मृत्यु भएको थियो ।

कोरोना संक्रमितको मृत्युपछि उनका आफन्तले डाक्टर र नर्समाथि कुटपिट गर्दै अस्पताल तोडफोड गरेका थिए। घटनामा नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य मानबहादुर रावतलगायत ३ जना संलग्न रहेको आरोपमा प्रहरीले पक्राउ गरेको छ। आक्रमणबाट डाक्टर दीपक गुप्ता, डाक्टर चन्द्रप्रकाश साहु, डाक्टर समा अनसारी, स्टाफ नर्स आश्विन गुरुङ, सदीक्षा गैरे, बन्दना श्रेष्ठलाई चोटपटक लागेको भेरी अस्पताल प्रशासनले जानकारी दिएको छ।

यसैबीच   स्वास्थ्यकर्मीमाथि कुटपिट र अस्पताल तोडफोड गर्ने कार्यमा संलग्नलाई कानुनी कारबाही गरिने गृह मन्त्रालयले जनाएको छ । शुक्रबार दिउँसो विज्ञप्ति जारी गर्दै मन्त्रालयले स्वास्थ्यकर्मीमाथि कुटपिटमा संलग्न जो कोहीलाई तत्काल नियन्त्रणमा लिइ कानुनी कारबाही गर्ने विषयमा दृढ रहेको उल्लेख गरेको हो ।

‘कोभिड महामारीको यो विषम अवस्थामा बिरामीको उपचारमा खटिएका स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीमाथि हातपात र दुर्व्यवहार हुनु निन्दनीय कार्य हो’ गृहमन्त्रालयका प्रवक्ता जनकराज दाहालद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ।

त्यस्तै मन्त्रालयले स्वास्थ्यकर्मीको सुरक्षामा ध्यान दिन ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन पनि दिएको छ ।

Womui
Womui