राप्तीसोनारी गाउँपालिकाद्वारा ९ स्वास्थ्य केन्द्रमा स्वास्थ्य सामाग्री वितरण

360

नेपालगन्ज– बाँकेको राप्तीसोनारी गाउँपालिकाले कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि औषधी तथा आवश्यक स्वास्थ्य सामाग्रीहरु वितरण गरेको छ । निरन्तर रुपमा गाउँपालिका अन्तर्गतका स्वास्थ्य केन्द्रहरुमा औषधी र स्वास्थ्य सामाग्रीहरु वितरण कार्यलाई प्राथमिकता दिइएको हो ।

त्यस्तै मंगलबार आयुर्वेदिक औषधी पनि स्वास्थ्य शाखाको जिम्मा लगाइएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर शाहीका अनुसार ९ वटा स्वास्थ्य केन्द्रलाई माक्स, सेनिटाइजर, थर्मोमिटर, साबुन र सिटामोल उपलब्ध गराइरहेको छ । होम आइसोलेसनमा बसेका संक्रमितको स्वास्थ्य अवस्थाबारे बुझ्नुका साथै उक्त औषधि जनप्रतिनिधि र स्वास्थ्यकर्मीसहितको टोली घरघरमा पुगेर परामर्श दिँदै वितरण गर्ने गरिएको प्रमुख शाहीले बताए ।

अहिले गाउँमा ज्वरो र रुघाखोकीका लक्षण देखिएका बिरामीहरुको संख्या दैनिक बढेपछि गाउँपालिकाले उनीहरुको उपचारका लागि थप सहयोग पुग्ने उद्देश्यले एन्टीजेनद्वारा कोरोना संक्रमण चेकजाँच गरिरहेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख सुरेश शर्माको भनाइ रहेको छ ।

गाउँपालिकामा रहेका ९ वटै वडाका वडाअध्यक्ष र डाक्टरसहितका स्वास्थ्यकर्मीले संक्रमितको घरघरमा पुगेर स्वास्थ्य सामग्री वितरण गरिरहेको गाउँपालिका अध्यक्ष लाहुराम थारुले बताएका छन् । गाउँपालिका अध्यक्ष, वडाअध्यक्षसँग डाक्टरसहितको स्वास्थ्यकर्मीको टोली संक्रमितको घरदैलोमा पुग्दा उनीहरुले अपनत्व र राहत महसुस गर्ने विश्वाससाथ यो अभियानलाई सञ्चालन गरिएको अध्यक्ष लाहुराम थारु बताउँछन् ।

यस्तै गाउँपालिकाले कोरोना रोकथाम, नियन्त्रण र उपचारका लागि सबै वडाका जनप्रतिनिधि, कर्मचारीहरु सक्रियताका साथ लागि परेको र आवश्यता अनुसार होम आइसोलेसनमा बसेका संक्रमितका लागि अक्सिजनसहित घरमै उपचार गरिने योजनामा गाउँपालिका रहेको छ ।

Womui
Womui