शमशेरगन्ज– विपरीत दिशातर्फ गइरहेको ट्रकमा मोटरसाइकल ठोक्किँदा दुईको मृत्यु भएको छ । बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर ९ ढकेरीमा पूर्व जाँदै गरेको ना६ख ४९०९ नम्बरको ट्रकमा पश्चिमबाट आउँदै गरेको से३प ३२४१ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार दुई युवाको ज्यान गएको हो ।
इलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार दुर्घटना आइतबार दिउँसो ४ बजेको समयमा घटेको हो । मृत्यु हुनेमा राप्तीसोनारी गाँउपालिका ८ का १९ वर्षीय कृष्णप्रसाद थारु र सोही ठाँउका २८ वर्षीय किरण चौधरी रहेका छन् ।
दुर्घटनाबाट गम्भीर घाइते उनीहरुलाई भेरी अस्पताल नेपालगन्ज लगिएकोमा उपचारकै क्रममा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीले दुर्घटनास्थलबाट ट्रक र ट्रक चालकलाई नियन्त्रणमा लिएको छ ।