संक्रमितको घरदैलोमा परामर्शसहित स्वास्थ्य सामग्रीः अध्यक्ष थारु

176

नेपालगन्ज– बाँकेको राप्तीसोनारी गाउँपालिकाले होम आइसोलेसनमा बसेकाको घरदैलोमा पुगेर स्वास्थ्य सामग्री (हाइजेनिक किट) वितरण गरिरहेको छ । गाउँपालिकामा रहेका ९ वटै वडाका वडाअध्यक्ष र डाक्टरसहितका स्वास्थ्यकर्मीले संक्रमितको घरघरमा पुगेर स्वास्थ्य सामग्री वितरण गरिरहेको गाउँपालिका अध्यक्ष लाहुराम थारुले बताएका छन् । यसरी स्वास्थ्य सामग्री वितरण गर्न घरदैलोमा पुगेको टोलीले होम आइसोलेसनमा बसेका संक्रमितलाई परामर्श दिनुका साथै कोरोना भाइरसबारे बच्ने उपायबारे बताउने गरेका छन् ।

गाउँपालिकाले होम आइसोलेसनमा बसेका संक्रमितको स्वास्थ्य अवस्थाबारे बुझ्नुका साथै कोरोना संक्रमितलाई माक्स, सेनिटाइजर, थर्मोमिटर, साबुन र सिटामोल उपलब्ध गराइरहेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख सुरेश शर्माले जानकारी दिएका छन् । गाउँपालिका अध्यक्ष, वडाअध्यक्षसँग डाक्टरसहितको स्वास्थ्यकर्मीको टोली संक्रमितको घरदैलोमा पुग्दा उनीहरुले अपनत्व र राहत महसुस गर्ने विश्वाससाथ यो अभियानलाई सञ्चालन गरिएको अध्यक्ष लाहुराम थारु बताउँछन् ।  संक्रमितहरुको घरमा पुगेर चिकित्सकसहितको टोलीले आवश्यक परामर्श तथा स्वास्थ्य जाँच पनि गरिरहेका छन् । गम्भीर बिरामीलाई आइसोलेसनमा रिफर गर्ने तथा आवश्यकता अनुसार घरमै अक्सिजनको व्यवस्थापन गर्ने योजना रहेको अध्यक्ष थारु बताउँछन् ।

गाउँपालिकाले गत वैशाख २७ गतेदेखि एन्टीजेन प्रविधिबाट कोरोना परीक्षण सुरु गरेको बताउँदै अध्यक्ष थारुले कोरोना भाइरस गाउँस्तरमा नफैलियोस् भन्ने उद्देश्यले एन्टीजेन परीक्षणको सुरुवात गरिएको बताए । कोरोना भाइरससँग मिल्दोजुल्दो ज्वरो आउने,  टाउको दुख्ने रुघा लाग्ने जस्ता लक्षण देखिएका गाउँपालिका अन्तर्गतका सबै बिरामीको एन्टीजेन परीक्षण निःशुल्क रुपले गरिने गाउँपालिका अध्यक्ष लाहुराम थारुले बताएका छन् ।

अध्यक्ष थारुले कोरोना भाइरसबाट आफू पनि बच्न र अरुलाई पनि बचाउन सरकारद्वारा जारी निर्देशनलाई पालना गर्न गाउँपालिकावासीमा आग्रह गरेका छन् । कोरोना भाइरस कुनै एकको गल्तीले गर्दा गाउँस्तरमा फैल्न सक्ने कुरालाई मध्यनजर गर्दै यस विषम परिस्थितिमा निषेधाज्ञा र स्वास्थ्य मापदण्डको पालना गर्दै जनजीवन निर्वाह गर्न गाउँपालिकावासीलाई सुझाएका छन् । अध्यक्ष थारुले यति गर्दा गर्दै पनि कोरोना भाइरसको संक्रमण भयो वा लक्षण देखिए आफूलगायत प्रमुख प्रशासकीय अधिकृत र स्वास्थ्यकर्मीलाई तुरुन्त खबर गर्न आग्रह गरेका छन् ।

कोभिड–१९ को दोस्रो लहरलाई रोकथाम गर्न राप्तीसोनारी गाउँपालिकामा ५० बेडको अक्सिजन सहितको आइसोलेशन सञ्चालन गरी स्वास्थ्य सेवा प्रदान गरिरहेको छ । आइसोलेसनमा बसेका सबै संक्रमितलाई अक्सिजनसहितको स्वास्थ्य प्रदान गरिएको हो ।

Womui
Womui