टिकापुर अस्पताललाई ३ लाख ५० हजार बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण

163

नेपालगन्ज–नेप्लिज अमेरिकन च्याम्बर अफ कमर्स डालस टक्सास, अमेरिका र वेष्टर्न हस्पिटल नेपालगन्जको सहयोग तथा बास नेपालको व्यवस्थापनमा आज ३ लाख ५० हजार बराबरको स्वास्थ्य सामाग्री टिकापुर अस्पताललाई हस्तान्तरण गरेको छ ।

बास केन्द्रीय कार्यालयमा बिहीबार इलाका प्रशासन कार्यालय टिकापुरका प्रमुख रामबहादुर कुरुम्वाङ र टीकापुर अस्पतालका अध्यक्ष दीपकबहादुर रावललाई २०० थान पिपिई वेस्टर्न हस्पिटल नेपालगन्जका निर्देशक डा. राहुल थापा, बासका अध्यक्ष रमेश सिटौला र कार्यकारी निर्देशक नमस्कार शाहले हस्तान्तरण गरेका छन् ।

वेस्टर्न हस्पिटल नेपालगन्जका निर्देशक डा. राहुल थापाबाट १ लाख ७५ हजार र बासको समन्वयमा १ लाख ७५ हजार गरी ३ लाख ५० हजार बराबरको २०० थान पिपिई टिकापुर अस्पताललाई प्रदान गरिएको थियो । सामाग्री ग्रहण पश्चात बोल्दै इलाका प्रशासन कार्यालय टिकापुरका प्रमुख रामबहादुर कुरुम्वाङले बाँकेमा यस अघि एक वर्षको कार्यकालमा बाँके बासिहरुबाट राम्रो सहयोग पाएको स्मरण गरे । उनले कोभिड महामारीविरुद्ध टिकापुर अस्पतालमा स्वास्थ्य सामाग्री अभाव हुन नदिन सहयोग संकलन गरिरहेको बताए ।

विपतको समयमा सामुहिक रुपमा अगाडी बढ्न सकेमा मात्रै विपत्तिविरुद्ध जित हासिल गर्न सकिने उनको भनाइ थियो । उनले स्वास्थ्य सामाग्री सहयोग गर्ने संस्थाहरुलाई धन्यबाद ज्ञापन गरे । यसैगरी कार्यक्रममा बोल्दै टिकापुर अस्पतालमा अध्यक्ष दीपकबहादुर रावलले इलाका प्रशासन कार्यालय टिकापुरमा प्रमुखको रुपमा रामबहादुर कुरुम्वाङ आएपछि टिकापुरका जनताका लागि ठुलो सहयोग र समन्वय भईरहेको बताए । उनले अस्पतालका लागि यति ठूलो सहयोग गरेकोमा सहयोग गर्ने संस्थाहरुलाई टिकापुरवासीको तर्फबाट धन्यवाद ज्ञापन गरेका थिए । सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै वेस्टर्न हस्पिटल नेपालगन्जका निर्देशक डा. राहुल थापाले टिकापुर अस्पतालका लागि बासको समन्वयमा सानो सहकार्य गरेको बताए । उनले सबैले मिलेर अगाडि बढेमा मात्रै महामारीविरुद्ध लड्न सकिने प्रतिक्रिया दिए । कार्यक्रमको सञ्चालन बासका कार्यकारी निर्देशक नमस्कार शाहले गरेका थिए ।

स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा इलाका प्रशासन कार्यालय टिकापुरका प्रमुख राम बहादुर कुरुम्वाङ, टीकापुर अस्पतालका अध्यक्ष दीपकबहादुर रावल, टिकापुर उद्योग वाणिज्य संघका अध्यक्ष रामबहादुर भण्डारी, वेष्टर्न हस्पिटल नेपालगन्जका निर्देशक डा. राहुल थापा, वडा प्रहरी कार्यालय नेपालगन्जका प्रमुख, प्रहरी निरीक्षक डिल्लीबहादुर खड्का, बासका अध्यक्ष रमेश सिटौला, कार्यकारी निर्देशक नमस्कार शाह, निर्वतमान अध्यक्ष मन भण्डारी, उपाध्यक्ष लुना बुढाथोकी, महासचिव शिवकुमार बर्मा, निर्देशक हेमराज भट्ट, कार्यक्रम संयोजक रबिन्द्र बोहरा, लेखा अधिकृत दीपा चौधरीलगायतको उपस्थिति रहेको थियो ।

Womui
Womui