उपाध्यक्ष खत्रीको दैनिकीः स्वास्थ्य चौकी र होम आइसोलेसन अनुगमन

206

युवराज थापा
नेपालगन्ज– बाँकेको राप्ती सोनारी गाउँपालिका उपाध्यक्ष धनीकुमारी खत्रीको दैनिकी यतिबेला स्वास्थ्य चौकी अनुगमन र होम आइसोलेसनमा बसेका बिरामीलाई भेट्दैमा बित्ने गरेको छ । कोरोना भाइरस रोकथाम र नियन्त्रणबारे जनचेतनामूलक सन्देश प्रवाह गर्नुका साथै वडामा रहेका स्वास्थ्य केन्द्रलाई चाहिने आवश्यक स्वास्थ्य सामग्री पुर्‍याउँदैमा उनको दैनिकी बित्ने गरेको थाहै नहुने गाउँपालिका उपाध्यक्ष खत्री बताउँछिन् ।

‘गाउँलेहरु कोरोना भाइरसबाट त्रसित एवम् भयभित छन्,’ उपाध्यक्ष खत्रीले भनिन्,‘ यस्तो अवस्थामा उनीहरुको समस्या समाधान गर्न र केही परे हामीहरु छौं भन्ने एहसास गराउन होम आइसोलेसनमा बसेका बिरामी कहाँ पुग्ने गरेकी हुँ ।’

उपाध्यक्ष खत्री बुधबार ९, ८ र २ नम्बर वडामा रहेका स्वास्थ्य चौकी र त्यहाँका स्वास्थ्यकर्मी र त्यहाँ आउने बिरामीलाई कुनै पनि असहज परिस्थिति नहोस् भनी स्वास्थ्य सामाग्री के कति अबस्थामा छन् भन्ने विषयमा जानकारी लिन अनुगमनमा निस्किएकी थिइन् । अनुगमनका क्रममा ३ वटै वडा का स्वास्थ्य चौकीमा अपुग स्वास्थ्य सामाग्रीको माग फारम पनि लिनुका साथै आवश्यक सामाग्रीहरू तुरुन्तै उपलब्ध गराइने बताएकी छिन् ।

त्यस क्रममा स्वास्थ्य केन्द्रमा आउने विभिन्न प्रकृतिका बिरामीको जानकारी गराउनुका साथै स्वास्थ्यकर्मीले आफ्ना समस्या पनि उपाध्यक्ष समक्ष राखेका थिए । उपाध्यक्ष खत्रीले विविध समस्याका बावजुद आफ्नो ज्यान जोखिममा राखेर बिरामीको रेखदेख र उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई धन्यवाद दिँदै सेवामा लाग्न हौस्याएकी थिइन् ।

Womui
Womui