गाईलेक

166

राप्तीसोनारी गाउँपालिका अन्तर्गत दक्षिण सीमाको चुरे पहाडको सबैभन्दा अग्लो शिखर र उच्चस्थानमा फराकिलो मैदान रहेको अग्लो पर्यटकीय स्थान हो गाईलेक । राप्तीसोनारी गाउँपालिका–१ स्थित भवानीयापुर नजिक चुरे अन्तर्गत राष्ट्रिय वनभित्र पर्दछ । यहाँबाट बाँके र दाङ जिल्लाको समग्र दृश्यावलोकन र भारतीय बहराईच, श्रावास्ती जिल्लाका दृश्यावलोकन गर्न उचित रहेको छ । सिद्धबाबा मन्दिर र चारैतिर त्रिशूल राखिएको यो पर्यटन क्षेत्रमा गर्मीमा चिसो सरर् हावा चल्दछ भने चिसोमा दिनभर घाम लाग्ने गर्छ । अशोस्थामा सामुदायिक वन उपभोक्ता समूहले गाईलेकमा सिद्धबाबा मन्दिर निर्माण गरेको छ ।

नेपालमा सूर्योदय भएको र भारतमा सूर्यास्त भएको दृश्य यहीबाट देख्न सकिन्छ । गाईलेकबाट उत्तरमा नेपालको चुरे पहाड, अग्ला पहाड र हिमाली श्रृंखलाहरू मजाले देख्न सकिन्छ । दक्षिणमा नेपालको समथर खेतका फाँटहरू, बस्ती र भारतीय सहरहरू देख्न सकिन्छ । गाईलेकको पूर्वमा दाङ राजपुर नगरपालिका–७ भौवानाका, स्याउलेगाउँ, उत्तरमा नरैनापुर गाउँपालिका–१ को सीमा, भारतीय बनवा नाका र पश्चिममा नरैनापुरको चुरेडाँडा रहेको छ । गाईलेकको दृश्य पूर्वपश्चिम राजमार्ग अन्तर्गत कुसुममोडबाट समेत प्रष्ट देखिन्छ । यहाँ राप्तीनदीको झोलुङ्गे पुल तर्दै ८ किलोमिटर दूरीमा पैदल ३ घण्टामा पुग्न सकिन्छ । यहाँबाट बाँके जिल्लाको कोहलपुर, नेपालगन्ज र खजुरा बजारसमेत प्रष्ट देखिन्छ । यहाँबाट ५ किलोमिटरको दूरीमा भारतीय सीमा बजार बनवा बजार पुगिन्छ ।

गाईलेकमा अहिले राप्तीसोनारी र दाङका किसानहरू पानी नपरे वा खडेरी लागे पानी माग्न जाने चलन छ । यहाँ पानी मागेपछि त्यही दिन पानी पर्ने गरेको स्थानीय बताउँछन् । विगतदेखि स्थानीयहरू गाईगोरु चरण जाने, घाँसपात जाने र गोठ बस्ने गर्छन् । अहिले धार्मिक, भौगोलिक, हावापानी, दृश्यावलोकन, पैदलमार्ग हाइकिङ पर्यटन क्षेत्र बन्दै गएको हुँदा यहाँ आवतजावत गर्नेहरू बढिरहेका छन् । धार्मिक आस्थाका रूपमा त्रिशूल र ढुंगाका मूर्ति राख्ने प्रचलन बढेको छ । यो डाँडाको पूर्वपश्चिममा बबईखोला र हाडबाँस खोला रहेका छन् । पुराना कथ्यअनुसार पहिला यहाँस्थित ओरालघारी गुफामा पसेको कुकुर गाईलेक निस्कन्छ भन्ने भनाइ छ । यस्तै स्थानीयले गाउँमा विवाहमा भोजभतेर गर्ने भाँडा र खेतबारी जोत्न गाईगोरु गाईलेकमा गएर माग्दा गुफामा बिहान भेटिने गरेको भनाइ छ ।

Womui
Womui