समाजसेवी सिद्धिकीको निधनप्रति गैसस महासंघद्वारा शोक व्यक्त

106

नेपालगन्ज– संविधान सभा सदस्य एवम् समाजसेवी मोहम्मदी सिद्दिकीको निधनप्रति गैर सरकारी महासंघ नेपाल बाँके शाखाले शोक व्यक्त गरेको छ । कोरोना संक्रमण भएर विगत दुई हप्तादेखि भेरी अस्पतालमा उपचार गराइरहेकी सिद्दिकीको वैशाख ११ गते उपचारकै क्रममा निधन भएको थियो । फातिमा फाउन्डेसनकी संस्थापक र एमनेष्टी इन्टरनेशनल नेपालमार्फत् लामो समय मानव अधिकार रक्षाका लागि महत्वपूर्ण भूमिका निभाएकी सिद्दिकी गैरसरकारी महासंघ नेपाल बाँके शाखाको सल्लाहकार समेत हुन् ।

सिद्दिकीले विभिन्न गैससमार्फत् मानव अधिकारको रक्षा, सुशासन सवलीकरण, सामुदायिक सशक्तिकरण, सामाजिक सद्भाव, महिलाहरुको आत्मजागरण, सामाजिक सचेतना, मधेशी, मुस्लिम समुदायको आत्मनिर्भरताका लागि पुर्‍याएको अतुलनीय योगदानको गैसस महासंघ नेपाल उच्च कदर गरेको कुरा गैसस महासंघ नेपाल बाँके शाखाका अध्यक्ष नमस्कार शाहद्वारा जारी गरिएको वक्तव्यमा उल्लेख छ ।

मुस्लिम महिलाले लगाउने बुर्काविरुद्ध अभियान चलाउने नेपालकै पहिलो मुस्लिम महिला हुन् सिद्दिकी । सामाजिक सेवामा जीवन समर्पण गरेकी सिद्दिकीले समाजसेवामा कहिल्यै राजनीति गरिनन् बरु राजनीति मार्फत समाजसेवा गरिन् वक्तव्यमा उल्लेख छ । सिद्दिकीले जीवनभर गरेको संघर्ष,  अँगालेको निष्ठा र सदाचारिता सबैका लागि उत्प्रेरणाको श्रोत हुने अध्यक्ष शाहले उल्लेख गरेका छन् । सिद्दिकीले लिएको लक्ष्य, उनका अधुरा योजना र सपना परिपूर्ति गर्ने कार्यमा गैसस महासंघ नेपाल दत्तचित्त भएर अघि बढ्नु पर्नेमा शाहले जोड दिएका छन् ।

सिद्दिकीलाई गुमाउनु पर्दा एक असल अभिभावक गुमाएको महसुस गरेको उल्लेख गर्दै अध्यक्ष शाहले उनको अतुलनीय योगदानको चिरकालसम्म सम्झना हुने कार्य महासंघले गर्ने प्रतिबद्धता उल्लेख गर्दै कोरोनाका कारण दिवङ्गत सिद्धिकीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनप्रति गहिरो समेवेदना प्रकट गरेको छ ।

Womui
Womui