दुई सय शैय्‍याको आइसोलेसन बनाउँदै नरैनापुर

109

नरैनापुर–बाँकेको नरैनापुर गाउँपालिकाले कोरोना संक्रमितको लागि दुई सय शैय्‍याको आइसोलेसन बनाउने तयारी थालेको छ । बाँकेमा दिनप्रतिदिन कोरोना महामारी भयावह बन्न थालेपछि कोरोना संक्रमितका लागि उक्त संख्याको आइसोलेसन बनाउन थालिएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत विजयकुमार यादवले जानकारी दिएका छन् ।

तत्कालका लागि लक्ष्मणपुर स्वास्थ्य चौकीमा २५ शैय्‍याको आइसोलेसन तयारी अवस्थामा रहेको छ । पछिल्लो समय कोरोना संक्रमित भएका एक जना वडा अध्यक्ष, दुई जना वडा सदस्य र ५ जना कर्मचारीलाई सोही आइसोलेसनमा राखिएको प्रमुख यादवले जानकारी दिए ।

अब नेराप्रावि खोदावा, आदर्श मावि लक्ष्मणपुर, नेराप्रावि मोतीपुरमा पनि संक्रमितको संख्या हेरी सबै ठाउँमा गरी दुई सय शैय्‍याको आइसोलेसन बनाउने तयारीमा जुटेको गाउँपालिकाका अध्यक्ष मो. इस्तियाक अहमद शाहले बताएका छन् ।

पछिल्लो समय कोरोना महामारीको भयावह अवस्था झेलेको नरैनापुरले यतिबेला हरसम्भव कोरोना भाइरस निस्तेज गर्ने तर्फ अघि बढेको छ । खुला सिमानाका, विद्युत अभाव र स्वास्थ्यकर्मी अभावले पेलिएको नरैनापुरमा यतिबेला विजुली बत्ती पुगेको छ भने एमबीबीस डाक्टर पनि पाएको छ । सबै कुराले सम्पन्न भइसकेपछि कोरोना भाइरसको संक्रमण रोक्न गाउँपालिकाले आवश्यक कदम चालेको छ । जनप्रतिनिधि र कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि आइतबारदेखि वडा कार्यालयबाट प्रदान हुने अत्यावश्यक स्वास्थ्य सेवाबाहेकका सबै सेवाहरुलाई पूर्ण रुपमा बन्द गरिएको छ भने यस अवधिमा कन्ट्रयाक्ट ट्रेसिङ, सीमाको आवतजावतमा निगरानी, आइसोलेसन व्यवस्थापनलगायतका कार्यलाई तीव्र रुपमा अघि बढाएको गाउँपालिकाका अध्यक्ष मो। इस्तियाक अहमद शाहले जानकारी दिए । त्यस्तै सेवाग्राहीको सेवालाई मध्यनगर गर्दृ गाउँपालिकाको कार्यालय र स्वास्थ्य शाखा खुला गरेको छ भने कर्मचारीलाई कार्यविभाजन अनुसार जनताको सेवामा खटाइएको अध्यक्ष शाहले बताए ।

Womui
Womui