खाद्यान्न तथा तरकारी प्रवर्द्धनमा राप्तीसोनारीको जोड

221

शमशेरगन्ज––राप्तीसोनारी गाउँपालिकामा रहेका ९ वटै वडाका कृषकलाई १ करोड रुपैयाँ दिइने भएको छ ।  खाद्यान्न उत्पादन तथा तरकारी उत्पादन सेवालाई विस्तार गर्ने उद्देश्यले उक्त रकम किसानलाई दिन लागिएको हो । गाउँपालिकालाई तरकारीमा पूर्ण रुपमा आत्मनिर्भर बनाउने उद्देश्यले संघको विशेष अनुदानमा १ करोड रुपैयाँ दिन थालिएको बुधबार भएको खाद्यान्न तथा तरकारी प्रवर्द्धनको प्रथम सार्वजनिक सुनुवाइमा कार्यक्रमका विशिष्ट अतिथि एवम् गाउँपालिकाका उपाध्यक्ष धनीकुमारी खत्रीले जानकारी दिइन् ।

कामको खोजीमा विदेश पलायन हुने युवाहरु लासमा परिणत भई बाकसमा स्वदेश भित्रिने घटना बढिरहेका बेला स्वदेशमै परिश्रम गरेर जीविकोपार्जन गर्न सकून भन्ने उद्देश्यले वितरीत उक्त रकमलाई किसानले सही तवरले सदुपयोग गर्नु पर्नेमा गाउँपालिकाका उपाध्यक्ष खत्रीले जोड दिइन्। कृषि क्षेत्रमा विशेष गरेर तरकारी खेती गर्न चाहने कृषकले सहजै उक्त रकम प्राप्त गर्न सक्ने भएकाले कामको खोजीमा विदेश पलायन हुने युवासँग स्वदेशमै काम गर्ने वातावरण बनाउन गाउँपालिका हरतवरले हातेमालो गर्न तयार रहेको उनले बताइन् ।

गाउँपालिकाको १ करोड रुपैयाँ अनुदान र कृषकको १ करोड ३७ लाख ७ हजार ३७५ रुपैयाँ गरेर कूल २ करोड ३७ लाख ७ हजार ३७५ रुपैयाँमा राप्ती सोनारी गाउँपालिकामा खाद्यान्न तथा तरकारी प्रवर्द्धन कार्यक्रम गरिँदै छ । कार्यक्रम अन्तर्गत विशेष गरेर चक्लाबन्दी रुपमा व्यवसायिक तरकारी खेती गर्नेलाई ५० प्रतिशत अनुदानमा कृषि प्रविधि उपलब्ध गराउनमा उक्त रकम खर्च गरिने साकार कृषि सहकारी संस्थाका मुख्य व्यवस्थापक जमानसिंह ओलीले जानकारी दिए । गाउँपालिकाद्वारा प्राप्त आर्थिक सहयोगको समन्वय साकार कृषि सहकारी संस्थाले गरिरहेको छ ।

कार्यक्रममा वडा नम्बर ५ का वडा अध्यक्ष झगरु थारुले गाउँवासीलाई आत्मनिर्भर गराउने उद्देश्यले प्राप्त रकम वास्तविक किसानसम्म पुग्नु पर्नेमा जोड दिए। किसानका नाममा गैर किसानको हातमा रकम नजाओस् भनेर अनुमन पश्चात् व्यवसायिक किसानलाई रकम वितरण गर्नु पर्ने बताउँदै उनले प्राप्त रकमलाई सही रुपमा किसानले सदुपयोग गर्नु पर्ने बताए ।

साकार कृषि सहकारी संस्थाका सचिव तथा कार्यकम उपसमिति कार्यान्वयन संयोजक चन्द्र प्रकाश शर्माको अध्यक्षतमा भएको कार्यक्रममा  विशेष अतिथि गाउँपालिकाका उपाध्यक्ष धनी कुमारी खत्री,  अतिथि वडा नम्बर ५ का वडा अध्यक्ष झगरुप्रसाद थारु, समाजसेवी डिल्लीबहादुर ओलीलगायत वडा नम्बर ४ र ५ का किसानको उपस्थिति रहेको थियो ।

Womui
Womui