पहिलोपटक घरदैलाेमा बिजुली बलेपछि खुसीले रमे स्थानीय

230


बाँके(अगैया)–प्रायः सुनसान रहने गाउँठाउँमा हजारौंको भीड । त्यसमाथि पञ्चेबाजाको मधुर धुन । स्कुले बालबालिकाले लोप हुँदै गएको पञ्चेबाजा बजाएको वातावरणमा थारु नृत्यमा रमाइरहेका स्थानीय बुढापाका एवम् जनप्रतिनिधि, सरकारी कर्मचारीलगायत स्थानीयको उल्लास । थारु भेषभूषमा सजिएका युवायुवती र तीन दर्जन सञ्चारकर्मीको उपस्थिति । बुधबार राप्तीसोनारी गाउँपालिका वडा नम्बर ३ स्थित नारायणपुरमा देखिएको दृश्य हो यो । वर्षौको पर्खाइ पश्चात् गाउँघरमा बिजुली बलेपछि त्यहाँका बासिन्दा खुसी थाम्न नसकेर यसरी रमेका हुन् ।

सुगम जिल्लाको रूपमा परिचित बाँकेको राप्तीसोनारी गाउँपालिकाका बासिन्दा २१ औं शताब्दीमा आइपुग्दासमेत अन्धकारमय जीवनयापन गर्न बाध्य थिए । विजुली बत्तीका लागि चारैतिर हारगुहार गर्दा पनि बिजुली विस्तारको काम नभएपछि राप्तीसोनारी गाउँपालिकाले आफ्नै लगानीमा विद्युत विस्तारको काम सम्पन्न गरेको गाउँपालिका अध्यक्ष लाहुराम थारु बताउँछन् ।

सूचना तथा प्रविधिको पहुँच मानिसको हातहातमा पुगेको अवस्थामा बिजुली पुग्दा यसरी उल्लास मनाउनु अन्यलाई आश्चार्य लागे पनि लामो तपस्यापश्चात् विजुली बत्तीको सुविधा वडावासीले पाउँदा खुसीको सीमा नरहेको गाउँपालिका अध्यक्ष लाहुराम थारुले जानकारी दिए ।

यस अघि विद्युत् नहुँदा त्यहाँका बासिन्दा सोलार र परम्परागत टुकीले नै जीवन यापन गर्न बाध्य थिए । निर्वाचन ताका आफ्नो कार्यकालमा बिजुली बत्तीको सुविधा गाउँपालिकावासीलाई दिने चाहना एवम् उनीहरुको इच्छा बमोजिम काम पूरा गर्दा जीवनको सबैभन्दा ठूलो उपलब्धिको रुपमा लिएको अध्यक्ष थारुले बताए ।

नेपाल विद्युत प्राधिकरणबाट एक दशक अघिदेखि विद्युत विस्तार सुरु गरिए पनि काममा ढिलाइ भएपछि गाउँपालिकाले आफ्नै ३ करोड ५४ लाख ४५ हजार रुपैयाँको बजेटमा गाउँमा विद्युत सेवा विस्तार गरेको हो ।

बुधबार दिउँसो राप्ती सोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारु, उपाध्यक्ष धनीकुमारी खत्री, नेपाल विद्युत प्राधिकरण लुम्बिनी प्रदेश डिभिजन कार्यालय प्रमुख सुरज गौतम, प्राधिकरणको नेपालगन्ज वितरण केन्द्र प्रमुुख लखनलला मल्लिक र राप्ती सोनारी ३ का वडा अध्यक्ष गंगाराम थारुलगायतले वडाका आधा दर्जनभन्दा बढी स्थानमा स्वीच अन गरेर विद्युत सेवा शुभारम्भ गरेका थिए ।

बिजुली विस्तार भएसँगै वडा नम्बर ३ मा रहेका बैंशा, नवलपुर, भगतीपुर, बेलासपुर, गगराबास, भवनीयापुर, वनघुस्री, नारायणपुर, विसुवा, खैरहनी, सिनावास, जंगपुर, शाहीपुर र बेलडाँडालगायतका एक हजार तीन सय घरधुरीले विद्युत सेवा उपभोग गर्न पाउने भएका छन् भने वडा नम्बर ४ मा विद्युतीकरणको कार्य सम्पन्न भइसकेको ठाउँका स्थानीयको घरमा समेत विद्युत लाइन जडान गरिने लुम्बिनी प्रदेश विद्युत डिभिजन कार्यालय नेपालगन्ज डिभिजनका प्रमुख सुरज गौतमले जानकारी दिए ।
नेपाल सरकारको पूर्ण विद्युतीकरण गर्ने लक्ष्य अनुसार पालिकाको बजेटमा विद्युतीकरणको काम भएको प्रमुख गौतम बताउँछन् । गौतमले केन्द्रबाट सामुदायिक वा प्राविधिकरण गर्ने भन्ने निर्णय हुन नसकेका कारण वडा नम्बर ३ मा केही ढिला गरी विद्युत् विस्तार भएको उनले बताए ।

त्यस्तै गाउँपालिकाकी उप–प्रमुख धनी कुमारी खत्रीले वडावासीको घरमा बिजुली बलेको क्षण चुनाव जितेको क्षणझै महसुस भएको बताइन् । ‘आजको दिन मलाई चुनाव जिते जस्तो महसुस भएको छ । हामीले बत्ती नभएको यो क्षेत्रमा बत्ती बाल्ने प्रतिबद्धता गरेका थियौं । त्यो आज पूरा भएको छ ।’

वडा अध्यक्ष गंगाराम थारु वडावासीको अनुहारमा खुसी ल्याउन सफल भएको बताउँछन् । उनले वडामा विद्युत् विस्तार भएसँगै वडामा कृषिजन्य उत्पादनमा वृद्धि हुनुका साथै विद्युतका माध्यमबाट अन्य विकासको लहर झन् बढ्ने बताए ।

Womui
Womui