पालिकाको बजेटबाट विद्युतीकरण, बुधबार उद्घाटन हुँदै

126
२०७६ चैत ६ गते विद्युत विस्तारका लागि राप्ती सोनारी ३ बैंसामा पोल गाड्ने कार्यको शुभारम्भ गर्दै राप्ती सोनारी गाउँपालिकाका अध्यक्ष लाहुराम थारुलगायत ।

शमशेरगन्ज–२१ औं शताब्दीमा आइपुग्दा समेत बाँकेको राप्ती सोनारी गाउँपालिकाका बासिन्दा अन्धकारमा बस्न बाध्य थिए । जेनतेन सोलार बत्ती र परम्परागत टुकी बालेर जीवनयापन गरिरहेका स्थानीयको बाध्यतालाई राप्ती सोनारी गाउँपालिकाले आफ्नै लगानीमा विद्युतीकरण गरेर जीवन सहज बनाई दिएको छ ।
बुधबार (भोलि) गाउँपालिकाका अध्यक्ष लाहुराम थारुले उद्घाटन गर्ने विद्युतीकरणको लागि ३ करोड ५४ लाख ४५ हजार रुपैयाँको लागतमा निर्माण कार्य सम्पन्न भएको अध्यक्ष थारुले बताए । विद्युतीकरणसँगै वडा नम्बर ३ मा रहेका बैंशा, नवलपुर, भगतीपुर, बेलासपुर, गगराबास, भवनीयापुर, वनघुस्री, नारायणपुर, विसुवा, खैरहनी, सिनावास, जंगपुर, शाहीपुर र बेलडाँडालगायतका गाउँवासी बिद्युतबाट लाभान्वित हुनेछन् । वडा नम्बर ४ का केही घरधुरीमा पहिलेनै विद्युत पुगिसकेकाले यसपटक केही घरधुरीमा विद्युत पुग्ने अध्यक्ष थारुले बताए । अध्यक्ष थारुका अनुसार अहिले पनि वडा नम्बर ४ मा विद्युत विस्तारको कार्य चलिरहेको छ । विद्युतका लागि पोल र तार तान्ने काम धामाधम चलिरहेकाले छिट्टै वडा नम्बर ४ का सबै घरधुरीले पनि बिद्युतको सुविधा पाउने भएका छन्् ।

नेपाल विद्युत प्राधिकरणको धामपुरमा ३३ केभी प्रसारण लाइनको सव स्टेशनबाट तानिएको विद्युतका लागि आर्थिक वर्ष ०७६÷७७ को नीति तथा कार्यक्रममा आवश्यक बजेट विनियोजन गरिएको थियो । गाउँपालिका अध्यक्ष लाहुराम थारुले ६ चैत्र ०७६ मा विद्युत विस्तारका लागि राप्ती सोनारी ३ बैंसामा पोल गाड्ने कार्यको शुभारम्भ गरेका थिए ।
विद्युतीकरण आफ्नो उच्च प्राथमिकतामा रहेको बताउने अध्यक्ष थारुले छोटै समयमा गाउँपालिकाको आफ्नै बजेटमा बिद्युतीकरणको काम सम्पन्न गरेपछि स्थानीय तह तथा जनप्रतिनिधिले चाहे के हुँदैन भन्ने उदाहरण दिन सफल भएका छन् ।

Womui
Womui