राप्तीसोनारीका तीन सय सात जनाले पाए एकसाथ नागरिकता

131

नेपालगन्ज–बाँकेको राप्ती सोनारी गाउँपालिकाका तीन सय बढीलाई नागरिकता वितरण गरिएको छ । नागरिकता प्राप्त गर्नबाट वन्चित र उमेर पुगेका ३ सय ७ जनालाई राप्तीसोनारी गाउँपालिकासँगको समन्वयमा जिल्ला प्रशासन कार्यालय बाँकेले नागरिकता वितरण गरेको हो ।
गाउँपालिकाको वडा नम्वर ३, ४ र ५ का नागरिकता लिन चाहने व्यक्तिहरुको सम्पूर्ण कागजात र सिफारिस तयार गरेर गाउँपालिकाले शुक्रबार बसको व्यवस्था गरी नागरिकता लिन जिल्ला प्रशासन कार्यालय बाँकेमा पठाएको हो । प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले जिल्लाको दुर्गम क्षेत्रका नागरिकको सहजताका लागि गाउँपालिकासँग समन्वय गरी प्रशासनमा नागरिकता वितरण गरिएको बताए । यसरी सेवा दिँदा सदरमुकामभन्दा टाढा भएका दूरदराजका नागरिक र प्रशासनको बीचमा सम्वन्ध प्रगाढ हुने उनको विश्वास छ । उनले नागरिकता लिन आएका सेवाग्राहीलाई गाउँपालिकाले बसको व्यवस्था गरी पठाएको र सरकारी खाना खुवाएर पठाएको बताए ।
यस अघि घरदैलोमै नागरिकता प्रदान गर्ने उद्देश्यले बिहीबार नागरिकता घुम्ती सेवा शिविर सञ्चालन गरिएको थियो । राप्तीसोनारी गाउँपालिकाको आयोजनामा वडा नं.३,४ र ५ को लागि वडा नं.४ बैजापुरमा गाउँपालिका अध्यक्ष लाहुराम थारुको अध्यक्षतामा तथा प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङ्ग प्रमुख आतिथ्यमा नागरिकता शिविर सञ्चालन गरिएको थियो ।
राप्तीसोनारी वडा ४ बैजापुरमा सञ्चालन गरेको नागरिकता घुम्ती सेवा शिविरमा २ सय ९७ जनालाई नेपाली नागरिकताको प्रमाणपत्रका लागि नाता प्रमाणितसहित सनाखत गरिएको थियो । कोहलपुर र नेपालगंज जान नसक्ने व्यक्तिलाई गाउँमै नागरिकता वितरण गर्ने कार्यक्रम बनेको थियो ।

सबै नागरिक प्रशासनको पहुँचमा पुग्न सक्दैनन्, सबै नागरिकको घरसम्म हामी पुग्न सकेका हुँदैनौँ त्यसैले गाउँपालिकाको आयोजनामा पहलमा नागरिकता शिविर सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष लाहुराम थारुले बताए । सार्वजनिक सेवालाई छिटो छरितो, चुस्त दुरुस्तरुपमा प्राप्त गर्नु जनताको अधिकार हो । सोही अधिकारलाई प्रत्याभूत गराई जनताको घर दैलोमा सरकारको उपस्थिति गराई जनतालाई सेवा प्रवाह गर्ने उद्देश्य साथ नागरिकता शिविरको आयोजना गरिएको अध्यक्ष थारुले बताए ।

Womui
Womui