भागरथी हत्या प्रकरणः आरोपितलाई सुधार गृहमा पठाउन आदेश

138


बैतडी–किशोरी बलात्कार र हत्या गरेको आरोप लागेका बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीका १६ वर्षीय किशोरलाई पुर्पक्षका लागि सुधारगृह पठाउन जिल्ला अदालत बैतडीले आदेश दिएको छ। ती किशोरमाथि सोही गाउँकी १७ वर्षीया भागरथी भट्टलाई बलात्कार र हत्या गरेको आरोप लागेको हो ।

उनलाई सरकारी वकिल कार्यालयले मङ्गलबार अदालत बुझाएको थियो। अदालतले उनी १८ वर्ष नपुगेकाले पुर्पक्षका लागि सुधारगृह पठाउन आदेश दिएको बैतडीका प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए। थुनछेक बहसपछि जिल्ला अदालतका न्यायाधीश तिलकबहादुर कार्कीको इजलासले पुर्पक्षका लागि सुधारगृह पठाउन आदेश दिएको हो । उनलाई डोटीमा रहेको सुधारगृह पठाउने तयारी रहेको गरिएको छ । गत माघ २१ गते विद्यालयबाट फर्किएकी भागरथी साँझ घर नपुगेपछि खोजतलास गर्दै जाँदा माघ २२ गते स्थानीय लवलेक जङ्गलमा विभत्स र निर्वस्त्र अवस्थामा मृत फेला परेकी थिइन् ।

प्रहरीले घटनाको अनुसन्धानपछि ती किशोरलाई फागुन ४ गते नियन्त्रणमा लिएको थियो। त्यसपछि प्रहरीले जिल्ला अदालतबाट चार पटक ५–५ दिनका लागि म्याद थप गरेर थप अनुसन्धान गरेको थियो। ती किशोरले यसअघिनै आफूले बलात्कारपछि भागरथीको हत्या गरेको स्वीकार गरिसकेका छन् । सनातन धर्म माविमा कक्षा ११ पढ्ने ती किशोर र सोही विद्यालयमा कक्षा १२ मा पढ्ने भागरथी एकै गाउँका हुन्। नाताले यी दुवैजना दिदीभाइ पर्छन् । यसअघि भागरथीको शव जिल्ला अस्पतालमा परीक्षण गर्दा बलात्कारपछि हत्या भएको देखिएको थियो। भागरथीको भेजाइनल स्वाब र दिनेशको डिएनए परीक्षणका लागि विधिविज्ञान प्रयोगशाला काठमाडौँ पठाइएको भए पनि रिपोर्ट आएको छैन । रासस

Womui
Womui