अध्यक्ष कप रनिङ शिल्डः खेलमय बन्यो राप्तीसोनारी

227

बाँके/ यतिबेला राप्तीसोनारी गाउँपालिका खेलमय बनेको छ । शनिबार तेह्रौ राष्ट्रपति कप रनिङ शिल्ड छनौट तथा तेस्रो राप्तीसोनारी गाउँपालिका स्तरीय अध्यक्ष कप रनिङ शिल्ड खेलकुद प्रतियोगिता–२०७७ सञ्चालनमा आएसँगै गाउँपालिका खेलमय बनेको छ । खेल उद्घाटनका क्रममा विद्यार्थीहरुले बजाएको पञ्चेबाजाको मधुर आवाजमा रमाएका विद्यार्थी र शिक्षकहरु निकै उत्साही देखिन्थे । कला संस्कृति जोगाउनुपर्छ भन्ने सन्देश दिन राप्तीसोनारी गाउँपालिकाका विद्यार्थीलाई पञ्चेबाजा बजाउने तामिल दिइएको रहेछ । राप्तीसोनारी गाउँपालिका वडा नम्बर १ कुसुम लौकीस्थित सिद्देश्वर महादेव माध्यामिक विद्यालयको प्राङ्गणमा विद्यार्थीहरुले बजाएको पञ्चेबाजा, मार्चपास, सलामी र नृत्यले मोहोल निकै रमाइलो बनेको थियो । शनिबारदेखि राप्तीसोनारी गाउँपालिकाको आयोजना तथा सिद्देश्वर महादेव माध्यामिक विद्यालय लौकीको सञ्चालन तथा व्यवस्थापनमा प्रतियोगिता गरिएको हो ।

प्रतियोगिताको राप्तीसोनारी गाउँपालिका अध्यक्ष एवम् प्रमुख अतिथि लाहुराम थारुले उद्घाटन गरे । प्रतियोगिता उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले राप्तीसोनारी गाउँपालिकाले खेलकुद र शिक्षा क्षेत्रलाई उच्च प्राथमिकता दिइरहेको बताए ।

राप्तीसोनारी गाउँपालिका क्षेत्रभित्र ५४ वटा सामुदायिक, १८ वटा निजी तथा २ वटा मदरसा विद्यालय रहेको उनले जानकारी दिए । गाउँपालिकाले आफ्नो बजेटबाट शिक्षा क्षेत्रमा गरेको लगानीको प्रचार धेरै नगरेको भन्दै दुःख व्यक्त गरे । शिक्षा क्षेत्रको सुधारका लागि व्यवस्थापन र नीतिगत रुपमा नेतृत्व गर्न तयार उनको धारणा थियो ।

कार्यक्रमका विशिष्ट अतिथि एवम् पूर्वमन्त्री प्रेमबहादुर भण्डारीले शिक्षा क्षेत्र संवेदनशील रहेकाले यसको सुधारका लागि सरकारको चासो र चिन्ता अपरिहार्य रहेको बताए ।

विशिष्ट अतिथि एवम् राप्तीसोनारी गाउँपालिका उपाध्यक्ष धनीकुमारी खत्रीले खेलकुदमा महिला सहभागिता बढ्दै गएकोमा खुसी व्यक्त गरिन् । उनले अब खेलकुदमा बुहारीहरु पनि आउनु पर्ने धारणा राखिन् । स्वास्थ्यका लागि खेलकुद अति आवश्यक रहेकोमा जोड दिँदै उनले यसका लागि गाउँपालिकाले विशेष प्राथमिकता दिइरहेको समेत बताइन् ।

गाउँपालिका शिक्षा शाखा प्रमुख जीवन न्यौपानेले बालबालिकाले शैक्षिक क्रियाकलापका साथै खेलकुदमा आफ्नो प्रतिभा प्रस्तुत गर्न जरुरी रहेको बताए । उद्घाटन कार्यक्रममा राप्तीसोनारी गाउँपालिका वडा नम्बर १ का वडाअध्यक्ष चन्द्रबहादुर ओली, जनशक्ति माध्यामिक विद्यालय बालापुरका अध्यक्ष एवम् गाउँ शिक्षा समितिका सदस्य मोहन गौतम, लक्ष्मी माध्यामिक विद्यालय मदुईका प्रधानाध्यापक लक्ष्मण आचार्य, कुसुम ग्रामीण बिद्युत सहकारी संस्था लिमिटेडका अध्यक्ष यमबहादुर खड्का लगायतले बोलेका थिए ।

यही फागुन २५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा राप्ती सोनारी क्षेत्रमा सामुदायिक र सस्थागत गरी कूल ५५ वटा विद्यालयको सहभागिता रहेको आयोजकले जनाएको छ । प्रतियोगितामा विभिन्न विद्यालयका विद्यार्थीले एथलेक्टिस, भलिबल खेलमा प्रतिस्पर्धा गर्ने प्रतियोगिता सञ्चालन गरिरहेको विद्यालय सिद्देश्वर महादेव माध्यामिक विद्यालय लौकीका प्रधानाध्यापक रुद्र वलीले जानकारी दिए । प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुने विद्यालयलाई नगद, शिल्डलगायत पुरस्कारको व्यवस्था मिलाइएको गाउँपालिका शिक्षा शाखा प्रमुख जीवन न्यौपानेले जानकारी दिए।

उद्घाटन खेल सम्पन्न

प्रतियोगितामा शनिबार नै मार्चपास, आधारभूततर्फको १ सय मिटर छात्र छात्रा दौड तथा गणित र कुर्सी दौड सम्पन्न भएका छन् । प्रतियोगिताका सचिवालय संयोजक नन्दलाल बस्नेतका अनुसार आधारभुत तर्फको १ सयमिटर छात्र दौडमा नेरा माध्यामिक विद्यालय गुलरीका राजन परियार पहिलो, शिवशक्ति माध्यामिक बिद्यालय पुरानीका ललित केसी दोस्रो र जनशक्ति माबि बालापुरका खेमराज खत्रीले तेस्रो स्थान हासिल गरेका छन् ।

यस्तै छात्रा १ सय मिटर दौडमा शहिद स्मारक आधारभूत विद्यालय खेरियाका गीता डाँगी प्रथम, शिद्धेश्वर मावि सिधनवाका रामकुमारी थारु दोस्रो र नेरा आधारभूत विद्यालय टिकुलीपुरका सुमन थारु तेस्रो हुनु भएकी छिन् ।

आधारभूत तह (१–३ कक्षा)को कुर्सी दौडमा नेरा मावि कुम्भरका सुशान्त थारु पहिलो,  नेरा प्रावि खोकरीका करिश्मा पुन दोस्रो र कुसुमेश्वर मावि कुसुमका मञ्जु ओली तेस्रो भएकी छिन् ।
यसैगरी आधारभूत तह(४–५ कक्षा) को गणित दौडमा प्रथम सभ्यता इंगलिस मिडियम स्कुल कुसुमका एलिसा रावत प्रथम, सनराइज स्कुल ढकेरीका जेसिका गौतम दोस्रो र जनशक्ति मावि बालापुरका कौसल खड्का तेस्रो भएका छन् ।

प्रतियोगितामा छात्र २ सय ८५ र छात्रा २सय ३२ गरी कूल ५ सय १७ जना सहभागी भएका छन् । प्रतियोगितामा भलिबल खेलतर्फ छात्र र छात्राका १४/१४ वटा टिम सहभागी भएको खेल संयोजक नन्दलाल बस्नेतले बताए ।

Womui
Womui