ज्येष्ठ नागरिकलाई फागुन २३–२५ गतेसम्म कोरोना खोप लगाइने

60

बाँके–बाँकेमा फागुन २३ देखि २५ गतेसम्म दोस्रो चरणको कोरोना खोप लगाइने भएको छ । पहिलो चरणमा छुटेका र दोस्रो चरण अन्तर्गतका पहिलो चरणमा खोप लगाउने ज्येष्ठ नागरिकलाई खोप लगाउन लागिएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

शुक्रबार जिल्ला प्रशासन कार्यालय बाँकेमा पत्रकार सम्मेलन गरी दोस्रो चरणको खोपबारे जानकारी गराउँदै स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धिरजंग शाहले यो अवधिमा २५ हजार ७ सय ८९ जनालाई खोप लगाउन लागिएको बताए । उनले पहिलो चरणको खोप अभियान सफल भएको बताउदै बाँकेमा पहिलो चरणमा १० हजारले खोप लगाएको जानकारी दिए ।

स्वास्थ्य कार्यालय बाँकेका खोप अधिकृत भेषराज शर्माले ज्येष्ठ नागरिक र पहिलो चरणमा छुटेकालाई खोप लगाउन दिने उद्देश्यले वडा स्तरीय ८१ वटै स्वास्थ्य संस्थासँग समन्वय बैठक भइसकेको जानकारी दिए । यसका लागि पालिका स्तरीय खोप समन्वय समिति पनि निर्माण भइसकेको छ । गर्भवती, १८ वर्षमुनिका, गम्भीर बिरामी, एन्टिबायोटिक सेवन गरिरहेका र दीर्घरोगीबाहेक सबैले औषधी सेवन गर्न मिल्ने अधिकृत शर्माले बताए । हालसम्म देशभरका ४ लाख व्यक्तिले कोरोना खोप लगाइसकेका छन् ।

कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुङ्बाङले खोप अभियानलाई सफल बनाउन सबैसँग समन्वयकारी भूमिका निर्वाह गरिरहेको बताए । कोरोनाकालमा बाँकेमा देशकै उत्कृष्ट कार्य भएको बताउँदेै उनले जिल्ला बाहिरका धेरै कोरोना संक्रमितले बाँकेबाटै सेवा पाएको बताए । सबैको सहकार्यमा जिल्लामा उत्कृष्ट कार्य गर्न सफल भएको बताउँदै उनले दोस्रो चरणको खोप अभियानमा सकारात्मक सन्देश प्रवाह गर्दै सहयोग गर्न आग्रह गरे ।

त्यस्तै पहिलो चरणको खोप लगाएका  व्यक्तिका लागि  २८ दिनको फरकमा खोप लगाउने नेपाल सरकारको पहिलेको प्रावधान भएता पनि दुईदेखि तीन महिनाको फरकमा खोप लगाए प्रभावकारी हुने भएकाले पहिलो चरणको खोप लगाएका व्यक्तिका हकमा दोस्रो चरणको खोप वैशाखको ७ गतेदेखि १५ गतेसम्म लगाइने जानकारी दिइएको छ ।

Womui
Womui