हात्तीपाइलेबारे सचेतना जगाउन जरुरीः अध्यक्ष चौधरी

45

बाँके– डुडुवा गाउँपालिका अध्यक्ष नरेन्द्र कुमार चौधरीले हात्ती पाइले रोगबारे सचेतना फैलाउन जरुरी रहेको बताएका छन् । हात्तीपाइले रोगबाट बच्नका लागि अनिवार्य रुपमा औषधि सेवन गर्न गाउँपालिकावासीलाई अनुरोध गर्दै उनले गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मीलाई प्रभावकारी रुपमा सचेतना फैलाउनु पर्नेमा जोड दिएका हुन् । नागरिक सचेतनाका लागि हामी सबै जनप्रतिनिधि, शिक्षक, नागरिक अगुवाको भूमिका बढी प्रभावकारी भएकाले यो अभियानलाई सफल बनाउन सहयोग गर्नुपर्ने उनले बताए । हात्तीपाइले रोग निवारण कार्यक्रम अन्तर्गत अभियानलाई सफल पार्न गाउँपालिका स्तरीय अभिमुखीकरण तथा योजना तर्जुमा गोष्ठीका क्रममा अध्यक्ष चौधरीले सो कुरा बताएका हुन् ।

स्वास्थ्य कार्यलय बाँकेका प्रमुख धीरजंग शाहले निर्धक्कका साथ औषधी सेवन गर्न आग्रह गर्दै कुनै पनि भ्रमका पछि नलाग्न अनुरोध गरे । उनले विगत वर्षदेखि नियमित रूपमा कार्यक्रम सञ्चालन भए पनि बाँके जिल्लाले सतप्रतिशत उपलब्धि हासिल गर्न नसकेकोप्रति चिन्ता व्यक्त गर्दै यस वर्ष लक्ष्य हासिल गर्नमा सबैको भूमिकाको आवश्यकता रहेको बताए ।
कार्यक्रममा स्वास्थ्य शाखाका सहसंयोजक वीरेन्द्र घलेले औषधी सेवनका बारेमा प्रस्तुतीकरण गरेका थिए । कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधि, शिक्षक, कर्मचारी, नागरिक समाजलगायतको सहभागिता रहेको थियो ।
बाँकेमा यही चैत्र २० गतेदेखि हात्तीपाइले रोगविरुद्धको औषधी खुवाउने कार्यक्रम रहेको छ । डुडुवा गाउँपालिकाले अहिलेसम्म ७७ प्रतिशत उपलब्धि हासिल गरिसकेको छ भने सतप्रतिशत लक्ष्य हासिल गर्न यस वर्ष २२ प्रतिशत पूरा गर्ने लक्ष्य रहेको स्वास्थ्य शाखा प्रमुख धनबहादुर बुढाले बताए । उनका अनुसार डुडुवाका करिब ४४ हजार नागरिकलाई औषधी खुवाइने छ भने त्यसका लागि ४२ जना कर्मचारी र ६० जना महिला स्वास्थ्य स्वयम् सेविका खटाइने छ ।

Womui
Womui