ज्येष्ठ नागरिकको घरदैलोमै भत्ता वितरण

89

बाँके– डुडुवा गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेको छ । गाउँपालिकाले नयाँ आर्थिक वर्ष २०७७।०७८ को दोस्रो चौमासिक अन्तर्गत मंसिरदेखि फागुनसम्मको भत्ता वितरण गर्न थालेको हो ।

गाउँपालिकाको ६ वटै वडामा भत्ता वितरण सुरु गरिएको छ । गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले वार्ड नं. २ कोलही गाउँका ज्येष्ठ नागरिक सतगुर सरन कुर्मीलाई भत्ताबापतको रकम हस्तान्तरण गर्दै घरदैलोमै पुगेर दिइने सामाजिक सुरक्षा भत्ताको शुभारम्भ गरे । त्यस अवसरमा बोल्दै उनले गाउँपालिकाले विगतदेखि नै ज्येष्ठ नागरिकको सम्मान गर्दै घर–घरमा पुगेर रकम वितरण गर्दै आएको बताए । अध्यक्ष चौधरीले आंशिक अपाङ्गता भएकालाई आर्थिक सहयोग गाउँपालिकाले आफ्नै स्रोतबाट उपलब्ध गराएको भन्दै ज्येष्ठ नागरिकको पूर्ण रूपमा निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गरेको जानकारी गराए ।

गाउँपालिकाले ज्येष्ठ नागरिकको सम्मान गर्दै घर घरमा पुगेर भत्ता वितरण गरिरहेको छ । प्रत्येक वडामा कर्मचारीलाई खटाएर घरदैलोमा पुगेर भत्ता वितरण गरिरहेको वडा नम्बर २ का सचिव शिवकुमार मौर्यले बताए । उनका अनुसार गाउँपालिकाको ६ वटै वडामा ज्येष्ठ नागरिक, बालबालिका, दलित, अपाङ्ग, एकल महिला, विधुवा गरी तीन हजार ९ सय ७३ जनालाई सामाजिक सुरक्षा भत्ता वितरण गरिनेछ ।

७० वर्ष पुगेका ज्येष्ठ नागरिकलाई प्रति महिना तीन हजार, ६० वर्ष पुगेका ज्येष्ठ नागरिक दलित, ६० वर्ष पुगेका ज्येष्ठ नागरिक एकल, विधुवा आर्थिक सहायतालाई प्रति महिना दुई हजार, पूर्ण अपाङ्गता भएका व्यक्ति (क) वर्गलाई प्रतिमहिना तीन हजार, अपाङ्गता भएका व्यक्ति (ख) वर्गलाई प्रतिमहिना एक हजार ६ सय, जन्मेदेखि ५ वर्षमुनिका दलित बालबालिकालाई प्रतिमहिना चार सयका दरले रकम वितरण गरिने गाउँपालिकाका एमआइएस अपरेटर कौशलकुमार कैरातीले जानकारी दिए ।
यसैगरि अपाङ्गता भएका व्यक्ति (ग) वर्गलाई प्रतिमहिना पाँच सय र (घ) वर्गलाई चार सय रुपैयाँ प्रतिमहिनाका दरले गाउँपालिकाले आफ्नै स्रोतबाट वितरण गरिरहेको छ ।

Womui
Womui