सांसदले प्रतिनिधिसभा विघटन भएको समयको तलब पाउने

64


छिनछिन खबर
काठमाडौं
– सांसदहरूले प्रतिनिधि सभा विघटन हुँदाको बेलाको तलब पनि पाउने भएका छन् ।गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रतिनिधिसभा बिघटन गरिएको थियो । प्रतिनिधिसभा बिघटनको ६५ दिनपछि सर्वोच्च अदालतले उक्त निर्णय वदर गरिदिएको छ । फागुन ११ गते सर्वोच्चले उक्त फैसलासँगै राष्ट्रपति, प्रधानमन्त्री र सभामुखको नाममा १३ दिनभित्र बैठक बोलाउन पनि परमादेश जारी गरेको छ । प्रतिनिधिसभाको अधिवेशन गत असार १८ मा अन्त्य भएको थियो ।

संघीय संसदका प्रवक्ता डा. रोजनाथ पाण्डे प्रतिनिधिसभाका सांसदहरुले अब ६५ दिनको पनि तलब भत्ता लगायतका सबै सुविधा पाउने बताए । ‘सांसदहरूले तलब, भत्ता सबै पाउँछन्, तलब काट्ने कुरै भएन । सर्वोच्चले आदेश दिइसकेपछि कानुनसम्मत ढंगले पारिश्रमिक पाउँछन्,’ प्रवक्ता डा. पाण्डेले भने ।
प्रतिनिधिसभामा २ सय ७५ सदस्य छन् ।


कति पाउँछन् सांसदले तलब ?
सरकारले प्रतिसांसद मासिक ६५ हजार १ सय ७१ रुपैयाँ पाउँछन् । यस्तै, आवास भत्ता भनेर मासिक १८ हजार रुपैयाँ गरी ८३ हजार १ सय ७१ रुपैयाँ पाउँछन् । यस्तै, प्रत्येक सांसदलाई एक जना स्वकीय सचिव राख्ने सुविधा कानुनले दिएको छ । सरकारले प्रत्येक सांसदका स्वकीय सचिवलाई ३० हजार रुपैयाँका दरले मासिक तलब दिन्छ । यसरी हिसाव गर्दा २७५ जना स्वकीय सचिवलाई ३० हजार रुपैयाँका दरले रकम दिनुपर्ने हुन्छ ।

अहिलेको व्यवस्था अनुसार २७५ जना सांसदलाई मासिक ८३ हजार १ सय ७१ रुपैयाँका दरले २ महिनाको तलब भत्ता वापत ४ करोड ५७ लाख ४४ हजार ५० रुपैयाँ राज्यकोषको खर्च हुने देखिन्छ । यस्तै, २७५ जना स्वकीय सचिवको लागि २ महिनाको तलब १ करोड ६५ लाख रुपैयाँ खर्च हुनेछ । यसरी प्रतिनिधिसभाका सांसद र उनीहरुका स्वकीय सचिवलाई तलब तथा भत्ता प्रदान गर्दा राज्यकोषको कम्तिमा पनि ६ करोड २२ लाख ४४ हजार ५० रुपैयाँ खर्च हुनेछ ।

Womui
Womui