जनसंख्याको १.४ प्रतिशतले लगाए कोरोनाविरुद्ध खोप

145


छिनछिन खबर
काठमाडौं–
नेपालमा कुल जनसंख्याको १.४ प्रतिशतले कोरोनाविरुद्धको खोप लगाएका छन् । अहिलेसम्म चार लाख २९ हजारबढीले कोरोनाविरुद्धको खोप लगाएको स्वास्थ्य सेवा विभागले जानकारी दिएको छ । माघ १४ गतेबाट सुरू भएको खोप अभियानअन्तर्गत पहिलो चरणमा एक लाख ८५ हजार आठ सय ६५ जनाले कोरोना खोप लगाएका थिए । दुई लाख २१ हजार सात सय ११ जनालाई लगाउने लक्ष्य लिइए पनि ८५.४० प्रतिशतले खोप लगाएको विभागले जनाएको छ ।


पहिलो प्राथमिकताको दोस्रो चरणमा दुई लाख ८५ हजार आठ सय ८७ जनालाई खोप दिइने लक्ष्य लिइएकोमा ८४.०८ प्रतिशतले खोप लगाएका थिए । फागुन १० गतेसम्म नेपालको कूल जनसंख्याको १.४ प्रतिशतलाई खोप दिइएको विभागका महानिर्देशक डा. दीपेन्दरमण सिंहले बताए । देशको जम्मा जनसंख्या तीन करोड तीन लाख ७८ हजार ५५ जनामध्ये १.४ प्रतिशतले फागुन १० गतेसम्म खोपको पहिलो डोज लगाएको उनले बताए ।


फागुन २३ गतेबाट ५५ वर्ष माथिकालाई लगाइने
सरकारले भारतबाट १० लाख डोज खोप किनेर ल्याएको छ । यसअघि भारतले अनुदानमा दिएको १० लाख डोज खोप फ्रन्टलाइनरलाई लगाइएको थियो । अब किनेर ल्याएको १० लाख डोज खोपबाटै ५५ वर्ष माथिको उमेर समूहका लागि दिइनेछ । झण्डै ३७ लाख जनसंख्या रहेको उक्त उमेर समूहलाई कति दिनसम्म लगाउने भन्ने अहिले नै यकिन गर्न नसकिने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमले बताए ।
मन्त्रिपरिषद्ले निर्धारण गरेको प्राथमिकताका आधारमा मात्र खोप लगाउने काम भइरहेको गौतमले बताए ।

Womui
Womui