राष्ट्रपतिलाई ब्ल्याकमेल केपी ओलीले गर्नुभएको हो, हामी हटाउँदैनौंः प्रचण्ड (अन्तर्वार्ता)

55


काठमाडौं–प्रतिनिधि सभा पुनसर््थापना गर्ने सर्वोच्चको फैसलापछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले राष्ट्रपति विद्यादेवी भण्डारीलाई नहटाउने र प्रधानमन्त्री केपी शर्मा ओलीसँग सहकार्य हुन नसक्ने बताएका छन् । प्रचण्डले बिबिसी नेपाली सेवालाई दिएको अन्तर्वार्ताको अंश ।


प्रतिनिधि सभा पुनःस्थापना भयो । अब प्रधानमन्त्री तपाई बन्ने कि कांग्रेस सभापति शेरबहादुर देउवा ?
प्रधानमन्त्रीका बारेमा हामी पुरै खुला छौं । मैले पहिले पनि भनेको छु । हाम्रो प्राथमिकता प्रधानमन्त्री हुने होइन । प्रधानमन्त्री हुनका लागि हामीले आन्दोलन गरेका पनि होइनौं । नेपाली कांग्रेस, जनता समाजवादी लगायत अरु दलसँग समझदारी गरेर अघि जाने कुरा हुन्छ ।

प्रधानमन्त्री ओलीविरुद्ध ल्याइएको अविश्वास प्रस्तावमा भावी प्रधानमन्त्रीका रुपमा तपाईंको नाम उल्लेख थियो नि ?
मेरो जोड सहमति गर्ने तिर जोड हुन्छ । राष्ट्रिय सहमतिबाट अघि नगइकन देशले स्थिरता र प्रगति नपाउने देखिइसक्यो। त्यसकारण मैले प्रधानमन्त्रीमा दाबी गर्दिनँ । सबै राजनीतिक दलको सहमतिबाट जे हुन्छ,त्यही हुन्छ । नेपाली कांग्रेस र अन्य दलसँग भर्खर कुरा भएको छ । बुधबार राजनीतिक दलहरुसँग कुरा गरेर जसरी जनताको हित हुन्छ,सहमति बन्छ । त्यसरी नै हामी अघि बढ्छौं ।

नेपाली कांग्रेस तेस्रो स्थानको दलका रुपमा छ । कांग्रेसलाई दिने भए आफ्नै अध्यक्षलाई किन हटाउन खोजेको त ?
त्यसो पनि हामीले कहिं भनेका छैनौं । पार्टी आधिकारिताको दाबी गरिराखेका पनि छौं । सहमतिबाट जाऔं भनि पनि राखेका छौं। पार्टी विभाजन त ‘केपी जी’ ले गर्नुभयो नि। विघटनकारी काम उहाँले गर्नुभयो। हामी त्यसको लागि दोषी होइन नि । देशमा शान्ति,स्थिरता र विकासको वातावरण बनोस् भन्ने चाहेर जनतामा थियौं । आज जनताको जित भएको छ । जनतालाई बधाई दिन चाहन्छु ।शुभकामना भन्न चाहन्छु। जति शक्तिहरु असंवैधानिक छ भनि सडकमा जाने आन्दोलनकारी,नागरिक आन्दोलनकर्मी,पत्रकार जगत बुद्धिजीवी, संविधानविद, कानुनविद्, मजदुर, किसान आम जनताप्रति हार्दिक बधाई भन्न चाहन्छु ।


भावी राजनीतिका लागि राष्ट्रिय सहमतिमा जोड दिनुभएको छ । केपी ओलीलाई बाहेक गरी राष्ट्रिय सहमति खोज्ने कि उनलाई पनि सँगै लाने सम्भावना छ ?
केपी शर्मा ओली कसरी आउनुहुन्छ । हेर्नुपर्ने हुन्छ। पार्टी एकता अहिले हुन सक्दैन। उहाँले विभाजन गरिनै सक्नुभएको छ । प्रतिगमनतिर कदम चालि नै सक्नुभएको छ । एउटै पार्टी हुने सम्भावना म देख्दिन । तर, एउटा पार्टीको रुपमा केपीसँग कुरा हुनै नसक्ने भन्ने हुँदैन । उहाँको पनि एउटा पार्टी हुन्छ । ओलीसँग संवादै नगर्ने भन्ने संकिर्णता र यान्त्रिकता हामीमा हुँदैन। संवाद नै नहुने भन्ने मेरो दिमागमा छैन। ओलीसँग मिलेर सरकार बनाउने सम्भावना मैले देखिँदैन ।


त्यसो भए तपाईको लागि ओली भन्दा देउवा नजिक भए त ?

यो प्रश्न गलत राख्नुभयो । नजिक र टाढा इस्युले गर्छ । संविधानले संसद भंग गरेर घात गरेकाले र कांग्रेसले प्रधानमन्त्रीको कार्यलाई असंवैधानिक भनेकाले इस्युमा हामी सहमत भयौं नि । सहमति र असहमति इस्युका आधारमा हुने हो । यो पार्टी र त्यो पार्टी भन्ने होइन । ओलीले प्रतिक्रान्तिकारी कदम चाले। घात नेपाली जनता माथि गरेकाले त्यसमा असहमति हो नि हाम्रो ।


फेरि पनि केपी ओलीलाई प्रधानमन्त्री स्विकारेर जान सकिने अवस्था छैन नि ?


छैन छैन । त्यो सम्भावना उहाँले नै सिद्धाइदिनुभयो ।


तेस्रो पार्टी कांग्रेसलाई सरकारको नेतृत्व दिनु त गलत राजनीतिक संस्कार हुँदैन ?
हामी राजनीतिक दलसँग कुरा गर्दैछौं भन्दै छु त । सबै राजनीतिक दलसँग बसेर सहमति र समझदारी बनाउन हामी तयार छौं। पटक पटक मैले जनताको अघि भनेको छु। प्रधानमन्त्री हाम्रो प्राथमिकता होइन । हामीलाई नै प्रधानमन्त्री चाहियो भन्ने छैन। त्यही रुपमा बुझ्न म अनुरोध गर्दछु ।


तेस्रो दलको सभापतिलाई प्रधानमन्त्री बनाउने हानथाप भन्दा चुनावतिर लाग्नुहुन्छ कि ?
पार्टीहरुसँग छलफल गरेपछि नै त्यस विषयमा निष्कर्षमा पुग्छौं ।

सरकारमा हानथाप गर्नुभन्दा चुनावमा जाऔं न त भन्ने निर्णय पनि हुनसक्ला ?
हुनसक्छ । हुनसक्छ । राजनीतिक दलमा सहमति भएर त्यो पनि हुनसक्छ । त्यसमा अहिले हाम्रो कुनै निर्णय छैन । असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्ध आवाज उठाउने दलसँग समझदारी बनाएर जान चाहन्छौं ।


सर्वोच्चको आदेशपछि कांग्रेस सभापतिसँग कुराकानी भयो ?
भयो ।


देउवाको प्रतिक्रिया के थियो ?
अरु कुरा केही गरिएन बधाई साटासाट ग¥यौं। भोलि काठमाडौंमा भेट्ने भन्ने कुरा भएको छ ।

तपाईकै पार्टीबाट प्रधानमन्त्री बन्ने अवस्था आए तपाई बन्ने कि माधवकुमार नेपाल ?


अहिलेको यो प्रश्न नै होइन । सबैसँग छलफल गर्दछौं भनेपछि यो प्रश्नमा जान आवश्यकै छैन ।


राष्ट्रपति हटाउन तिर लाग्नुहुन्छ कि हुन्न ?
हामी लाग्दैनौं। त्यतातिर हामीले सोचेंकै छैनौं । राष्ट्रपतिलाई व्ल्याकमेल केपी ओलीले गर्नुभएको हो। हामीले कहिले त्यसो गरेका छैनौं ।

Womui
Womui