यसरी पनि मनाउन सकिन्छ साधारण सभा…

146

नेपालगन्ज– संस्थाको साधारण सभा भव्य तरिकाले होटल वा रेष्टुरेन्टमै मनाउनु पर्छ भन्ने छैन । साधारण सभा गर्दा सामाजिक कार्यमा योगदान पुर्‍याउँदै आएको संस्थालाई सहयोग पुग्ने तवरले पनि मनाउन सकिन्छ भन्ने उदाहरण बाँकेको एक संस्था दिन सफल भएको छ । त्यही उद्देश्य लिएर गरिब तथा विपन्न वर्गका नागरिकलाई लक्षित गर्दै भेरी अस्पताल परिसरमा सञ्चालित अञ्जनी माता रसोइमा नेपालगन्जस्थित सूचना र मानवअधिकार अनुसन्धान केन्द्रले आफ्नो वार्षिक उत्सव मनाएको छ । संस्थाले आफ्नो आठौं स्थापना दिवस तथा वार्षिक साधारण सभा मनाएको हो । दैनिक करिब तीन सय जनालाई २० रुपैयाँमै पेट भर खुवाउँदै आएको रसोईले गरिरहेको परोपकारी कार्यलाई प्रवद्र्धन गर्न, र अस्पतालका गरिब असहाय बिरामी तथा मजदुरलाई पेटभरि खाना खुवाउने कार्र्य दीर्घकालीन बनोस् भन्ने उद्देश्यले संस्थाले होटेल रेष्टुरेन्टमा तिर्ने रकम रसोईलाई उपलब्ध गराएको संस्थाका अध्यक्ष विश्वजित तिवारीले बताएका छन् । साधारण सभा गरेबापत सात हजार रुपैयाँ नगद रसोइलाई सहयोग गरेको तिवारीले बताए ।

उद्घाटन समारोहका प्रमुख अथिति नेपालगन्जका मेयर डा. धवल शमशेर राणाले सूचनाको हक र सुशासनका क्षेत्रमा काम गर्ने संस्थाले परोपकारी कार्यलाई थप उत्प्रेरित र हौसला प्रदान गर्ने उद्देश्यले रसोइमा गरेको साधारण सभा तारिफयोग्य भएको बताए । उनले अन्य संस्थाले पनि सिको गर्नु पर्नेमा जोड दिए ।
मधेशी आयोगका सदस्य विजय गुप्ताले छोटो समयमा संस्थाले संचालन गरेको विभिन्न नागरिक अभियान सफल रूपमा उपलब्धिपूर्ण भएकाले नागरिकहरुको नेतृत्व गर्ने एक सक्षम संस्थाको रूपमा आफ्नो पहिचान बनाइसकेको भन्दै प्रशंसा गरे । पूर्व सभासद मोहम्द्दी सिद्दिकीले संविधानले मौलिकको रूपमा व्यवस्था गरेको नागरिकसँग प्रत्यक्ष जोडिएका अधिकारको कार्यान्वयन गर्नमा सशक्त अवाज उठाएको बताइन् ।
संस्थाका अध्यक्ष विश्वजित तिवारीको अध्यक्षतामा सम्पन्न उदघाटन समारोहमा उच्च अदालत बार एशोशिएसन नेपालगन्ज अध्यक्ष विकास आचार्य, पूर्व अध्यक्ष बलबहादुर चन्द, भेरी चिकित्सक संघका अध्यक्ष डा विनोद कर्ण, लयान्स घनश्याम वैश्यलगायतले शुभकामना दिएका थिए । त्यस अवसरमा संस्था वर्षभरिको कार्यप्रगतिसहितको प्रतिवेदन संस्थाका सचिव रजनी खनालले प्रस्तुत गरेका थिए । कार्यक्रमपश्चात् रसोइमा सामूहिक भोजन गरिएको थियो ।
यसैगरी संस्थाको बन्द सत्रले सभामा प्रस्तुत भएको प्रगति तथा आर्थिक प्रतिवेदन अनुमोदन गरेको छ । यसैगरी सभामा संस्थाले निर्माण गरेको ३ वटा नयाँ नीति निर्देशिका र दुई नीतिलाई संशोधन र वार्षिक रूपमा समीक्षा गरिएको रणनीतिक कार्ययोजनालाई समेत अनुमोदन गरेको छ । सभाले संस्थाले सञ्चालन गरेको कार्यक्रमको समीक्षा, चुनौती र समस्याको व्यवस्थापन र आगामी वर्षको रणनीति निर्माण गरेको छ ।
यसैबीच संस्थाको स्थापना दिवसका अवसरमा नेपालगन्जका बलात्कृत एक बालिकाको परिवारको आर्थिक अवस्था दयनीय भएकाले उक्त परिवार पाँच हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरिएको छ । संस्थाले दिवसको अवसरमा शनिबार हनुमान गढी गौशालामा वृक्षारोपण गरेको थियो ।

Womui
Womui