व्यक्तिगत लगानीमा ओलीले गरे मन्दिर निर्माण

264

शमशेरगन्ज– राप्तीसोनारीका एक युवाले आफ्नै खर्चमा मन्दिर निर्माण गरेका छन् ।  राप्तीसोनारी गाउँपालिका वडा २ का वडा सदस्यसमेत रहेका ज्ञानेन्द्रराज ओली(ज्ञानु)ले बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नं.२ शमशेगन्जमा रहेको श्री दुर्गा भवानी माध्यामिक विद्यालयमा सरस्वती माताको मन्दिर निर्माण गरेका हुन् ।

मंगलबार श्रीपञ्चमी सरस्वती पूजाको अवसरमा वडा सदस्य ओलीले एक कार्यक्रमबीच मन्दिरको उद्घाटन गरेका छन् । ‘स्कुलमा सरस्वती माताको मन्दिर नहुँदा सरस्वती पूजाको दिन विद्यार्थीहरु टाढाटाढा जानुपर्ने बाध्यता थियो’,‘ उनले भने, ‘सोही बाध्यतालाई मध्यनजर गर्दै सामाजिक कामको रुपमा स्कुलमा आफ्नो व्यक्तिगत खर्चमा मन्दिर निर्माण गरिदिएको हुँ ।’

करिब २ लाख २८ हजार रुपैयाँमा निर्माण भएको मन्दिरका लागि वडा सदस्य ओलीले वडा कार्यालयबाट पाउँदै आएको तलबभत्ताको रकम खर्च गरेको बताए । । विगतमा विद्यालयको अवस्था एकदमै खराब भएका कारण कसैको सहयोग नहुने विद्यालयमा अहिले सबैको सहयोग र साथले राम्रो बन्दै गएको विद्यालयका प्रधानाध्यापक देवबहादुर थापाले बताए । वडा सदस्य मात्रै नभएर एक कुशल समाजसेवी पनि रहेका ओलीले विभिन्न समयमा थुप्रै सामाजिक कार्य गर्दै आएका छन् । ओलीले आफ्नो तलबभत्ताको रकमबाट गाउँमा प्रतीक्षालय निर्माण, सडक ग्राभेल, जिम क्लब, विपन्न विद्यार्थीलाई छात्रावृत्ति तथा मूर्ति स्थापनालगायतका कार्य गरिसकेका छन् ।

Womui
Womui