डुडुवाका सूचना हाई अनलाइन प्रणालीमा

54

नेपालगन्ज–मानवअधिकार कार्यान्वयन अनुगमनका लागि बाँकेको डुडुवा गाउँपालिकामा मानवअधिकारसँग जोडिएका विभिन्न विषय अन्तर्गतका सूचना हाई अनलाइन प्रणालीमा व्यवस्थापन गरिने भएको छ । मानवअधिकार अन्तर्गत संविधानले सुनिश्चित गरेका शिक्षा, स्वास्थ्य, रोजगारी, महिला, बालबालिका, सामाजिक सुरक्षा, अपराध पीडित, जातीय छुवाछुत लगायतका विभिन्न मौलिक अधिकारको कार्यान्वयन सम्बन्धी तथ्याङ्कहरु समेटिने गरी अनलाइन सूचना व्यवस्थापन प्रणाली विकास गर्न लागिएको छ ।
पारस्परिक जवाफदेहिता परियोजना अन्तर्गत सूचना र मानवअधिकार अधिकार अनुसन्धान केन्द्र नेपालगन्जको संयोजनमा मंगलबार मानवअधिकार सूचना व्यवस्थापन प्रणालीका बारेमा अभिमुखीकरण गरिएको छ । अभिमुखीकरणमा स्थानीय तहका विभिन्न सूचना विवरणलाई अद्यावधिक गरी उक्त प्रणालीमा राखिने गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताए । उनका अनुसार यो प्रणालीले गाउँपालिकाका प्रत्येक सूचना विवरण खोज्न, प्रयोग गर्न र पालिकाको योजना निर्माणलगायतमा सहयोग पुग्ने छ ।
अभिमुखीकरणलाई एफएचआइका मानवअधिकार सल्लाहकार सन्तोष सिग्देल र युथ इन्नोभेसन ल्याबका कम्प्युटर इन्जिनियर विप्लव अधिकारीले सहजीकरण गरेका थिए । अभिमुखीकरणको समापनमा गाउँपालिका उपाध्यक्ष शाहिदा बानो, निमित्त प्रमुख प्रशासकीय अधिकृत सञ्जय कर्ण, संस्थाका अध्यक्ष विश्वजित तिवारीलगायतले आआफ्नो धारणा राखेका थिए ।
अभिमुखीकरणमा डुडुवा गाउँपालिकाका जनप्रतिनिधि र विभिन्न शाखा प्रमुखको सहभागिता रहेको थियो । अभिमुखीकरणपश्चात् पालिकालका विभिन्न शाखाले तथ्याङ्क संकलन गरी प्रणालीमा व्यवस्थापन गरिनेछ ।

Womui
Womui