घरजग्गा बजार सूचक तयार हुँदै, के होला फाइदा ?

194


छिनछिन खबर
काठमाडौं
– घरजग्गा बजारको मूल्य प्रवृत्ति हेर्ने सूचक तयारी अन्तिम चरणमा पुगेको छ । वस्तु तथा सेवाको मूल्य प्रवृत्ति हेर्न उपभोक्ता मूल्य सूचकांक भएजस्तै घरजग्गाको बजार प्रवृत्ति हेर्न सूचकांक विकास गर्न लागिएको हो । नेपालमा पहिलोपटक प्रयोगमा आउन लागेको यो सूचक विश्वका धेरै देशमा वर्षौंदेखि अभ्यासमा छ । यो सूचक तयार पार्नका लागि नेपाल राष्ट्र बैंकले प्रारम्भिक चरणमा देशका विभिन्न ठाउँका मालपोत कार्यालय र बैंक तथा वित्तीय संस्थाहरुबाट निरन्तर तथ्यांक लिएर इन्डेक्स परीक्षण गरिरहेको जनाएको छ । राष्ट्र बैंकले आव २०७५÷०७६ बाटै घरजग्गा बजारको सूचक निर्माण थालेको हो ।

गत वर्ष चैतभित्रमा नै यो तयार गरेर सार्वजनिक गर्ने केन्द्रीय बैंकको योजना थियो । तर कोरोना महामारीले तालिका बिथोलिएको राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले बताए । अहिले बैंक तथा वित्तीय संस्था र मालपोत कार्यालयबाट हाउजिङ प्राइस इन्डेक्सलाई चाहिने आवश्यक तथ्यांकको पर्खाइमा राष्ट्र बैंक छ । आउन बाँकी तथ्यांकहरुको विश्लेषण गरी आगामी असारभित्रै यसको काम सक्ने तयारी भइरहेको ‍भट्टले जानकारी दिए । राष्ट्र बैंकले जग्गाको मात्रै बजार भाउ र अर्को घरले चर्चेको जग्गालाई आधार मानेर इन्डेक्स निर्माण गरेको छ । त्यसैगरी, मालपोत कार्यालयहरुसँगै बैंक तथा वित्तिय संस्थासँग रियल इस्टेटसँग सम्बन्धित तथ्यांकलाई समेटेर अर्को इन्डेक्स बनाएको छ ।
यस्ता छन् फाइदा
मुद्रास्फिति मापन गर्ने उपभोक्ता मूल्य सूचकांक, सेयर बजार मापन गर्न नेप्से परसूचक भएपनि अहिलेसम्म घरजग्गा बजार मापन गर्ने कुनै पनि माध्यम नभएकाले हाउजिङ प्राइस इन्डेक्स निर्माणलाई प्राथमिकता दिएको भट्टले जानकारी दिए । केन्द्रीय बैंकले मौद्रिक नीति बनाउँदा ब्याजदर तथा विनिमय दरसँगै एसेट मार्केटको मूल्य उपयोगी हुने बुझाइ राष्ट्र बैंकको छ । यी इन्डिकेटरहरुको मूल्य धेरै तलमाथि हुँदा उपभोग र लगानीमा नै प्रभाव पर्ने भट्टले बताए ।

उतारचढाव धेरै हुँदा नयाँ बिजनेस साइकल पलाएर बजार मूल्य धेरै माथि जाने (ओभर हिट) अहिलेको परिस्थितिलाई असमानता उन्मुख हुन नदिने सरकारी प्रयासलाई यो इन्डेक्सले सहयोग पुग्ने विश्वास राष्ट्र बैंकको छ । भट्टका अनुसार राष्ट्र बैंकले घरजग्गा बजारबाट भविष्यमा कुनै पनि प्रकारको जोखिम पहिचान गर्न पनि हाउजिङ प्राइस इन्डेक्स महत्वपूर्ण हुनेछ । स्टक मार्केटको विषयमा कुनै नीति नियम वा कुनै सरकारी निर्णय गर्नुपर्दा नेप्सेको तथ्यांकलाई केलाउँदा दिशानिर्देश हुने भएपनि घरजग्गामा कुनै पनि प्रकारको इन्डेक्स नहुँदा सरकारलाई नीति निर्माण वा अग्रगामी कदम लिन अफ्ट्यारो पर्ने गरेको छ ।

बुलिस् ट्रेन्ड वा मुखबोली भाउमा भइरहेको घरजग्गा कारोबार भविष्यमा कुनै मन्दीमा पर्ने खतरालाई पनि यो इन्डेक्सले सुधार गर्न सहयोग पुग्ने बताइन्छ । इन्डेक्सले मनपरी वा अस्वभाविक रुपमा बढिरहेको घरजग्गाको मूल्यलाई आवश्यक नीति बनाउन बाटो देखाउने राष्ट्र बैंकको भनाइ छ । यो इन्डेक्स लागु भएपछि सबै घटनाक्रम अभिलेखिकरण हुनुका साथै रियल इस्टेट क्षेत्रको विश्लेषणमा पनि सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

Womui
Womui