दुई दिन अघि सर्‍यो स्लो बाइक प्रतियोगिता

112

नेपालगन्ज–माघ १० गते तय भएको स्लो बाइक प्रतियोगिता प्राविधिक कारणले दुई दिन अगाडि सरेको छ । प्रतियोगिता नेपालगन्ज न्यूरोडस्थित बौद्धगुम्बाबाट ८ गते बिहान ७ बजेदेखि सुरु गर्ने आयोजक टिमले तय भएको जानकारी दिएको छ ।
यसैगरी स्लो बाइक प्रतियोगिताको मुख्य प्रायोजन एम.एस. ट्रेड इन्टरनेशनल (हिरो शो रुम) नेपालगन्जले गर्ने भएको छ । मुख्य प्रायोजन गरेसँगै प्रतियोगिताको नाम बास÷हिरो स्लो बाइक कम्पिटिसन नामाकरण गरिएको हो ।

बास र रोटरी क्लब अफ सेन्ट्रल नेपालगन्जको आयोजनामा हुने प्रतियोगिताको मुख्य प्रायोजनका लागि बासका तर्फबाट केन्द्रीय अध्यक्ष रमेश सिटौला, कार्यकारी निर्देशक नमस्कार शाह, निर्देशक हेमराज भट्ट र एम.एस. ट्रेड इन्टरनेशनल नेपालगन्जका प्रबन्ध निर्देशक माधव अर्यालबीच मंगलबार सम्झौता आदान प्रदान भएको छ ।
तीव्र गतिमा मोटरसाइकल चलाउनेलाई निरुत्साहित गरी दुर्घटनाबाट जोगाउन जनचेतनामूलक स्लो बाइक प्रतियोगिता गरिन लागिएको हो । तीव्र गतिमा मोटरसाइकल चलाउनलाई निरुत्साहित गर्ने, ट्राफिक नियमको पालना गरी सीमित गतिमा मोटरसाइकल चलाउन प्रोत्साहित गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न थालिएको हो । आवश्यक चेतनाको अभावमा युवाहरुले तीव्र गतिमा मोटरसाइकल चलाउँदा दिनहँुजसो दुर्घटना घटिरहेको अवस्थामा प्रतियोगिताले जोखिम न्यूनीकरण गर्दै जनचेतना जगाउने विश्वास लिइएको छ ।
प्रतियोगिताका विजेतालाई नगदसहित प्रमाणपत्रको व्यवस्था गरिएको छ । प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना एक जनालाई क्रमशः नगद १० हजार, ७ हजार, ४ हजार र २ हजार रुपैयाँ तथा प्रमाण पत्र प्रदान गरिने छ । प्रतियोगितामा मोटरसाइकल र स्कुटर जुनसुकै साधनको पनि प्रयोग गर्न सकिने छ भने प्रतियोगीसँग लाइसेन्स र प्रयोग गर्ने मोटरसाइकल कण्डिसनमा रहेको हुनु पर्नेछ ।
प्रतियोगितामा भाग लिन चाहनेले अनलाइनमार्फत् समेत फर्म भर्न सक्ने व्यवस्था गरिएको छ भने बास केन्द्रीय कार्यालय नेपालगन्ज–१० भृकुटीनगरमा गई नाम दर्ता गर्न सक्ने व्यवस्था पनि गरिएको छ । प्रतियोगितामा प्राविधिक सहयोग जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरी कार्यालय नेपालगन्जको रहेको छ ।

Womui
Womui