अन्तिम हुनेलाई प्रथम पुरस्कार !

145

नेपालगन्ज– सामान्यतयाः खेलकुद होस् या पढाइ लेखाइमा अगाडि हुने नै प्रथम पुरस्कारको दाबेदार हुन्छन् भने क्रमशः त्यसपछिका दोस्रो र तेस्रो तर नेपालगन्जमा माघ १० गते अन्तिम हुनेले प्रथम पुरस्कार र त्यसपछिका अन्तिममा दोस्रो र तेस्रो हुनेले द्वितीय र तृतीय पुरस्कार पाउने भएका छन् । जुन अवसर नेपालगन्जका युवा माझ जुराइदिएको छ ‘स्लो बाइक प्रतियोगिता’ ले । र प्रतियोगिता बास नेपालगन्ज र रोटरी क्लब अफ सेन्ट्रल नेपालगन्जको संयुक्त आयोजना तथा जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरी कार्यालय नेपालगन्जको सहकार्यमा हुँदै छ ।

प्रतियोगितामा सहभागिता जनाउनका लागि पाँच सय रुपैयाँ प्रवेश शुल्क तोकिएको छ भने प्रतियोगितामा प्रथम हुनेले नगद १० हजार रुपैयाँ र प्रमाण पत्र, द्वितीयले ७ हजार रुपैयाँ र प्रमाण पत्र, तृतीयले ४ हजार रुपैयाँ र प्रमाण पत्र पाउने छन् भने एकजनाले सान्त्वना पुरस्कारबापत नगद रु २ हजार रुपैयाँ र प्रमाण पत्र पाउने आयोजक टिमले जानकारी दिएको छ ।

प्रतियोगितामा सहभागी हुन इच्छुक व्यक्तिका लागि आयोजक टिमले बुधबारदेखि आवेदन खुला गरेको छ । प्रतियोगीले बास केन्द्रीय कार्यालय नेपालगन्ज–१० भृकुटीनगरमा गएर नाम दर्ता गराउन सक्नेछन् भने अनलाइनमार्फत् पनि नाम दर्ता गराउन सकिने आयोजक टिमले जानकारी दिएको छ ।

 बढ्दो सवारी दुर्घटना न्यूनीकरणका लागि जनचेतना जगाउन आयोजना गरिएको प्रतियोगिताका माध्यमले तीव्र गतिका कारण बढिरहेको दुर्घटनालाई निरुत्साहित गर्दै ट्राफिक नियमको पालना गर्न प्रोत्साहित गर्ने उद्देश्यले स्लो बाइक प्रतियोगिताको आयोजना गरिएको हो ।

 प्रतियोगितामा सहभागी हुन मोटरसाइकल र स्कुटर दुई पाङ्ग्रे जुनसुकै मोडलको साधन प्रयोग गर्न सकिने छ भने प्रतियोगीसँग अनिवार्य रुफमा लाइसेन्स र प्रयोग गर्ने मोटरसाइकल कण्डिसनमा रहेको हुनु पर्नेछ ।

Womui
Womui