बैंक मर्जरः दुई बैंकमा लगानी भएपनि क्रस होल्डिङ मानिने

57


मालती खड्का
काठमाडौं
–राष्ट्र बैंकले प्रत्यक्ष रुपमा क्रस होल्डिङ नदेखिएका तर अपत्यक्ष जोडिएका ६ बैंकलाई फोर्स मर्जरमा लैजाने तयारी गरेको छ । राष्ट्र बैंकले सुष्म निगरानी गर्दा ६ वाणिज्य बैंकमा सेयर स्वामित्व (क्रस होल्डिङ) देखिएको जनाएको छ । सेयर क्रस होल्डिङ देखिएका एनआइसी एसिया र एनएमबी, हिमालयन र इन्भेष्टमेट, सनराइज र सिद्धार्थ बैंक मर्जरमा जानुको बिकल्प नदेखिएको राष्ट्र बैंकको भनाइ छ ।

केन्द्रीय बैंकले क्रस होल्डिङ भएका अर्थात् एकाघर परिवार तथा संस्थाको लगानी भएका बैंक तथा वित्तीय संस्थालाई फोर्स मर्जर गराउने रणनीतिक योजना बनाएको छ । त्यसै अनुसार ती बैंकलाई पनि फोर्स मर्जरमा लैजाने तयारी गरेको राष्ट्र बैंकका एक अधिकारीले बताए । ‘एउटै समूहबाट जहिले पनि एक भन्दा बढी बैंकमा सञ्चालक हुने तर प्रमाणका आधारमा हेर्यो भने छुटिटएका दाजु, भाइ, छोराको नाममा सेयर भएकाले क्रस होल्डिङ नदेखिएकाले समस्या हुने गरेको थियो,’ राष्ट्र बैंकका ती कर्मचारीले भने, ‘पछिल्लो समयमा बारम्बार एउटै समूहबाट सञ्चालक हुनेको सुष्म निगरानी गर्दा ६ बैंकमा पटक पटक एउटै समूहका व्यक्ति दुई तिर देखिएकाले त्यस्ता बैंकलाई फोर्स मर्जरमा लैजाने तयारी भएको हो ।’

प्रत्यक्ष रुपमा प्रमाणका आधारमा क्रस होल्डिङ नदेखिने तर अपत्यक्ष रुपमा क्रस होल्डिङ देखिएका एनआइसी एसिया र एनएमबि, हिमालयन र इन्भेष्टमेट, सनराइज र सिद्धार्थ बैंकलाई फोर्स मर्जरमा लैजाने तयारी केन्द्रीय बैंकले गरेको छ । राष्ट्र बैंकले पछिल्लो समय ०.५ प्रतिशतदेखि माथिको विवरण माग संकलन गरेको थियो । तर उक्त विवरणमा प्रत्यक्ष रुपमा ०.५ प्रतिशत भन्दा बढी क्रस होल्डिङ सेयर देखिएको थिएनन् । तर अप्रत्यक्ष रुपमा क्रस होल्डिङ सेयर भएका बैंकहरुलाई एउटै समूह वा संस्थाका मानेर त्यस्ता बैंकलाई फोर्स मर्जरमा लैजाने तयारी गरेको हो ।

निजी क्षेत्रका ठूलो व्यवसायी समूह गोल्यानको एनएमबि बैंक र एनआइसी एसिया बैंकमा सेयर स्वामित्व उच्च छ । राष्ट्र बैंकको अध्ययनमा हालसम्म देखिएका ठुलो क्रस होल्डिङ भएको बैंकहरुमध्ये एनआइसी र एनएमबि बैंक अग्र स्थानमा पर्छन् । एनएमबि बैंकको अध्यक्ष रहेका पवन गोल्यानको नाममा एनआइसी एसिया बैंकमा धेरै कित्ता शेयर नभएपनि उनको परिवारको नाममा सेयर लगानी रहेको छ ।

त्यसैगरी, हिमालयन र इन्भेष्टमेन्ट बैंकमा पनि एकै समूहको क्रस होल्डिङ छ । साथै सनराइज र सिद्धार्थमा पनि एउटै समूहको क्रस होल्डिङ छ । कानुनी रुपमा छुटिटएका दाई, भाइ एकापरिवारको मानिदैन । केन्द्रीय बैंकले पनि त्यसरी नै परिवारको नाममा सेयर नभएपनि समूहको नाममा रहेको सेयरलाई पनि अप्रत्यक्ष रुपमा क्रस होल्डिङको आंशका गरेको छ । राष्ट्र बैंकले गत आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्नुभन्दा अघिबाटै क्रस होल्डिङ भएको अर्थात एकाघर परिवार तथा संस्थाको लगानी भएका बैंक तथा वित्तीय संस्थालाई फोर्स मर्जर गराउने रणनीतिक योजना बनाएको थियो । तर त्यो मौद्रिक नीतिमा समेटन सकेको थिएन । चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले एकाघर परिवार र संस्थाको क्रस होल्डिङ भएका बैंक तथा वित्तीय संस्थालाई मर्जरमा लैजाने उल्लेख गरेको छ । त्यसै अनुसार नै केन्द्रीय बैंकले फोर्स मर्जरमा लैजाने तयारी गरको हो ।
अहिलेसम्म कति मर्जर भए
केन्द्रीय बैंकका अनुसार गत असार मसान्तसम्म २७ वाणिज्य बैंक, २० विकास बैंक, २२ वित्त कम्पनी र ८५ लघुवित्त सञ्चालनमा छन् । पछिल्लो समय लघुवित्त पनि मर्जरमा जान थालेका छन् । ती संस्थालाई घटाएर करिब १५ वाणिज्य बैंक, ८ देखि १० विकास बैंक र करिब ५ वटामात्रै फाइनान्स कम्पनी रहने बैंकरको भनाइ छ ।

केन्द्रीय बैंकले तीन वर्षअघि ल्याएको मौद्रिक नीतिमार्फत आगामी एक वर्षमा चुक्ता पुँजी वृद्धि गरेर ४ देखि २५ गुणासम्म पुर्याउने प्रस्ताव ल्याउनुको उद्देश्य पनि जसरी भए पनि संख्या घटाउनु नै थियो । संख्यात्मकभन्दा गुणात्मक सेवा प्रदान गर्ने वित्तीय संस्था हेर्न चाहेको राष्ट्र बैंकको भनाइ छ । राष्ट्र बैंकले मर्जरसम्बन्धी विनियमावली २०६८ जारी गरेपछि वित्तीय संस्था गाभिन थालेका हुन् । गाभ्ने र गाभिनेसम्बन्धी विनियमावली आएपछि मर्जरमा जानेको संख्या ह्वात्तै बढेको राष्ट्र बैंकले बताएको छ । हालसम्म एक सय ९६ बैंक तथा वित्तीय संस्था गाभिएर ४६ वटामा झरेको राष्ट्र बैंकको भनाइ छ ।

Womui
Womui