अमेरिकामा ट्रम्प समर्थकको हुलदंगा, वासिङटन डिसीमा निषेधाज्ञा

180


वासिङ्टन–निर्वाचनमा पराजित भएपछि अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पमन समर्थकले हिंसा भड्काएका छन् । ट्रम्पको उक्त कदमलाई लिएर संसारभर आलोचना भएको छ । ट्रम्पका समर्थकले सडकमा निस्किएर हिंसात्मक प्रदर्शन सुरु गरेपछि अमेरिकी राजधानी वासिङ्टन डीसीमा कर्फ्यु लगाइएको छ ।

ट्रम्प समर्थकले क्यापिट हिल्स भवनमा पसेर हिंसात्मक प्रदर्शन गरेका थिए । अमेरिकी कंग्रेसमा इलेक्टोरल कलेजको गणनालाई लिएर बहस भइरहेका बेला ट्रम्प समर्थकले हिंसा मच्चाएका हुन् । अमेरिकी सुरक्षा अधिकारीहरुका अनुसार अहिले क्यापिटल हिल्समा सुरक्षा व्यवस्था कडा पारिएको छ । अमेरिकी कंग्रेसले डेमोक्रेटक उम्मेदवार जो बाइडेन राष्ट्रपतिमा निर्वाचित भएको प्रमाणित गर्ने कार्यक्रम थियो । अमेरिकी तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्सकी सभामुख नान्सी पेलोसीका अनुसार इलेक्टोरल भोटको गणना गर्ने कार्यक्रम थियो । १२ भोटको गणना समेत भइसकेको थियो । राष्ट्रपति ट्रम्पका समर्थकहरुले चुनाव रद्द हुनुपर्ने माग गर्दै प्रदर्शन गरेका हुन् । यस क्रममा प्रदर्शनकारी र प्रहरीबीच हिंस्रक झडप पनि भएको थियो । शान्ति सुरक्षामा खतरा पैदा भएपछि नेसनल गार्डका झण्डै २७०० जवान परिचालन गरिएको छ । सञ्चार माध्यमहरुका अनुसार क्यापिटल हिल्समा हिंसा मच्चाएको आरोपमा प्रहरीले अहिलेसम्म १३ जनालाई पक्राउ गरेको छ ।

वासिङ्टन डीसी महानगरीय प्रहरीका अनुसार ५ थान बन्दुक पनि बरामद गरिएको छ । झडपमा परी एक महिलाको मृत्यु भएको छ । क्यापिटल हिल्समा हिंसा मच्चिएपछि फेसबुक, युट्युब र ट्विटरले ट्रम्पको भिडियो सन्देश हटाइदिएको छ । ट्रम्पले पुनः चुनावी नतिजाबारे गलत दाबी गर्दै सेयर गरेको भिडियो सन्देशलाई पनि युट्युबले हटाइदिएको छ । एजेन्सी

Womui
Womui