माघ पहिलो साता योगिनी भलिबल हुँदै

180

नेपालगन्ज–माघको पहिला साता खजुरा गाउँपालिका–२, गौघाटमा योगिनी कप अन्तर क्लब स्तरीय पुरुष भलिबल प्रतियोगिता–२०७७ सञ्चालन हुने भएको छ । मंगलबार नेपालगन्जमा भलिबल प्रतियोगिता सञ्चालक समितिले पत्रकार सम्मेलनमार्फत् प्रतियोगिताका बारेमा जानकारी दिएको हो ।

प्रतियोगिता सञ्चालन रंगशाला नेपाल मिडिया प्रालि र योगिनी युवा क्लबको संयुक्त आयोजनामा सञ्चालन हुनेछ । जसमा बाँके जिल्ला भलिबल संघले प्राविधिक सहयोग गर्नेछ । प्रतियोगितामा खजुरा गाउँपालिका र सहयोगी आवाज (हिभ) नेपालको पनि समन्वय रहने योगिनी युवा क्लबका अध्यक्ष तरिन्द्र थापाले जानकारी दिए । सामुदायस्तरबाट भलिबलका खेलाडी उत्पादन गर्ने उद्देश्यले भलिबल प्रतियोगिता सञ्चालन हुन लागेको अध्यक्ष थापाले बताए । अध्यक्ष थापाले गौघाट क्षेत्र भलिबल खेलका लागि चर्चित गाउँ भएको बताउँदै, ‘गौघाट क्षेत्रमा फेरि भलिबलको सुरुवात हुन लागेको हो ।’

प्रतियोगितामा १० टिमको सहभागिता हुने अनुमान रहेको थापाले बताए । प्रतियोगितामा प्रथम हुने टिमले नगर २० हजार रुपैयाँसहित मेडल ट्रफी र प्रमाणपत्र पाउनेछ । दोस्रोले नगद १० हजार रुपैयाँ, मेडल ट्रफी र प्रमाणपत्र पाउने छन् भने खेलमा सर्वोत्कृष्ट खेलाडीका लागि नगद तीन हजार रुपैयाँ, मेडल ट्रफी र प्रमाणपत्रको व्यवस्था रहेको छ । साथै विधागत रुपमा उत्कृष्ट खेलाडीले एक/एक हजार रुपैयाँ, मेडल ट्रफी र प्रमाणपत्र पाउने छन् ।

कार्यक्रममा उपस्थित बाँके जिल्ला भलिबल संघका अध्यक्ष टिएस ठकुरीले प्रतियोगिताका लागि संघ तथा व्यक्तिगत रुपमा साथ, सहयोग र सल्लाह दिने बताए । ठकुरीले भलिबल प्रतियोगिताले निरन्तरता पाउनु पर्नेमा जोड दिए । ‘पहिलोपटक योगिनी क्लब र रंगशाला मिडियाले भलिबल प्रतियोगिता आयोजना गर्दैछ । बाँकेमा हुने धेरै प्रतियोगिताले निरन्तरता पाउन सकेका छैनन् । तर यो भलिबल प्रतियोगिताले निरन्तरता पाओस् । जसको लागि संघ र मेरो तर्फबाट सधैं साथ, सहयोग र सल्लाह मिल्नेछ,’ ठकुरीले भने । कार्यक्रममा प्रतियोगिताका संयोजक दिलिप महतरा, चौधरी ग्रुपका प्रतिनिधि उमेश निरौला, प्रेस युनियन बाँकेका अध्यक्ष अर्जुन ओलीलगायतको उपस्थित रहेको थियो ।

Womui
Womui