एसईई सञ्चालनको अधिकार प्रदेशलाई

176


छिनछिन खबर
काठमाडौं
– यसै वर्षबाट माध्यमिक शिक्षा परीक्षा (एसईई) लाई प्रदेशस्तरमा सञ्चालन गरिने भएको छ ।
मन्त्रिपरिषद्अन्तर्गतको सामाजिक समितिको बसेको बैठकले यसका लागि सैद्धान्तिक सहमति प्रदान गरेको छ । गृहमन्त्रीको अध्यक्षतामा बसेको सामाजिक समितिको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री, कानुनमन्त्री र महिला, बालबालिका तथा समाजकल्याणमन्त्रीको उपस्थिति थियो ।

शिक्षासम्बन्धी कानुनका साथै राज्यको नीतिमै माध्यमिक तहअन्तर्गतको कक्षा १० को परीक्षा प्रदेशस्तरमा र कक्षा १२ को परीक्षा केन्द्रीयस्तरमा सञ्चालन हुने व्यवस्था भए पनि केन्द्रीयस्तरमै राष्ट्रिय परीक्षा बोर्डले परीक्षा सञ्चालन गर्दै आएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयका सचिवको अध्यक्षतामा परीक्षा बोर्ड रहनेछ । प्रदेश शिक्षा निर्देशकलाई परीक्षा नियन्त्रकको समेत जिम्मेवारी दिइने भएको छ ।

परीक्षा बोर्डमा शिक्षा निर्देशक सदस्यसचिवको भूमिकामा रहनेछन् भने अन्य सदस्यहरुमा प्रधानाध्यापकहरुबाट दुई जना, शिक्षाविद्हरुबाट दुई जना, महिला लगायत रहने प्रावधानलाई अगाडि सारिएको छ ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव खगराज बरालले निर्णयका बारेमा माइनुट गर्न बाँकी रहेको बताए ।

Womui
Womui