पालिकाको नीतिगत सुधारका कारण मानव बेचबिखनविरुद्ध लड्न सहज

46
माइती नेपाल नेपालगन्जका संयोजक केशब कोइराला ।

नेपालगन्ज– भारतीय सीमा क्षेत्रसँग जोडिएको बाँके मानव बेचबिखनको ट्रान्जिट प्वाइन्ट मानिन्छ । मानव बेचबिखन निर्मूलीकरणका लागि सदियौंदेखि विभिन्न निकायको पहलकदमी भएता पनि प्रति वर्ष मानवबेचबिखनका घटना बढिरहेको तथ्यांकले देखाउँदै आएको छ । मानव बेचबिखनले दिनप्रतिदिन विकराल रुप लिइरहेको अवस्थामा कुनै एकको प्रयासले यसलाई रोक्न नसकिने माइती नेपाल बाँकेका संयोजक केशव कोइराला बताउँछन् ।

मानव बेचबिखनको जालो सहजै चिर्न नसकेता पनि देश संघीयतामा गइसकेपश्चात् बाँकेका केही स्थानीय तहले मानव बेचबिखनविरुद्ध कार्यविधि बनाएकाले सहज भएको बताउँछन् कोइराला । यसरी मानव बेचबिखन विरुद्ध कार्यविधि बनाउनेमा नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, खजुरा गाउँपालिका र बैजनाथ गाउँपालिका रहेका छन् ।

पालिका स्तरमा बनेका मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण स्थानीय समितिले सामाजिक स्तरमा मानवबेचबिखनविरुद्धका गतिविधि सञ्चालन गर्दा आम जनमानसमा जनचेतना फैलिएर मानव बेचबिखनमा कमी आउने उनको धारणा रहेको छ ।

कोरोना महामारीले विश्वजगत अस्तव्यस्त रहँदा समेत मानव बेचबिखनका घटना घट्नुमा मानव बेचबिखनविरुद्ध राज्यको नीति र संयन्त्र बलियो नहुँदा त्यसले प्रश्रय पाइरहेको कोइराला बताउँछन् । उद्धारको कुनै कानुन नहुनु, अनुसन्धानमैत्री वातावरण नहुनु र मानव बेचबिखनविरुद्धका मुद्दा अदालतमा गए पनि पीडित मैत्री वातावरण नहुनुले मानव बेचिबिखनलाई बढावा दिइरहेको बताउँदै संयोजक कोइरालाले वडास्तरदेखि केन्द्र स्तरसम्म मानव बेचबिखनविरुद्धका सशक्त नीति र नियम बन्नु पर्नेमा जोड दिएका छन् ।

नेपालबाट हुने मानव बेचबिखनको यकिन तथ्याङ्क सरकार र सरोकारवाला गैरसरकारी संस्थासँग नभएको जिकिर गर्दै संयोजक कोइरालाले नेपालमा जबसम्म अन्तर्राष्ट्रिय स्तरको कानुन बन्दैन तबसम्म मानव बेचबिखनका घटना दिनप्रतिदिन बढ्ने बताए ।

२६७ जनाको उद्धार

नेपालगन्जमा मंगलबार सञ्चारकर्मीहरुसँग गरेको अन्तर्क्रिया कार्यक्रममा माइती नेपालका संयोजक कोइरालाले नेपालगन्ज सीमानाकाबाट एक वर्षको अवधिमा जोखिमपूर्ण यात्रामा रहेका २ सय ६७ जनाको उद्धार गरेको जनाए । लकडाउनमा मात्रै १ सय ५२ जनालाई उद्दार गरिएको बताउँदै संयोजक कोइरालाले सबैभन्दा बढी बाँकेका ५५ जनाको उद्धार गरिएको जानकारी दिए ।

सन् २०२० मा २६९ जनालाई सुरक्षित बसाइँसराइबारे जानकारी दिइ पारिवारिक पुनर्मिलन गराइएको, श्रम र यौन शोषणमा परेका १२ जनालाई उद्धार गरिएको र १९८ जनालाई सीमाबाट परामर्श दिई घर फर्काइएको बताउँदै कोइरालाले भने,‘यस वर्ष खोजतलासको २९२ वटा निवेदन परेकोमा १३० जनाको उद्धार गरेका छौं भने घरेलु हिंसा सम्बन्धी परेको १५ निवेदनमा १० वटा समाधान भएका छन् ।’

Womui
Womui